
काठमाडौं, १२ असार – आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे 'समूह ए'को विजेता बनेको छ । यद्यपि यी दुवै टोली नकआउट चरणमा पुगेका छन् ।
नकआउट चरणमा उरुग्वेको भेट समूह बीको उपविजेता पोर्चुगल तथा रुसको भेट सोही समूहको विजेता स्पेनसँग हुनेछ ।
उरुग्वेको जीतमा लुइस सुआरेज र इडिसन काभानीले १-१ गोल गरे । थप एक गोल आत्मघाती गोलका रूपमा उपहार स्वरूप प्राप्त भयो ।
यस्तै समूह चरणबाटै बाहिरिएको साउदी अरेबियाले इजिप्टविरुद्ध २-१ को सान्त्वना जीत दर्ता गरेको छ । उसका लागि इन्जुरी समयमा सलेमन ल दसारीले विजयी गोल गरे । त्यसअघि २२औं मिनेटमा मोहमद सलाहको गोलबाट इजिप्टले लिएको शुरुवाती अग्रता पहिलो हाफको अन्तिम मिनेटमा सल्मान अल फराजको गोलबाट तोडिएको थियो । उनले पेनाल्टीमा गोल गरेका थिए ।
यससँगै साउदी एक जीतसहित घर फर्किएको छ भने इजिप्ट अंकविहीन रहन पुगेको छ । यससँगै समूह एका सबै खेल समाप्त भएको छ ।