०२ साउन २०८३, शनिबार

इन्द्र देउता रिझाउने नृत्य

कात्तिक २०, २०७४
इन्द्र देउता रिझाउने नृत्य
काठमाडौं, २ फागुन – भनिन्छ, नेपाल विविधताले धनी तथा भरिपूर्ण मुलुक हो । हिमाल, पहाड र तराईका विविध समुदायमा समाजले आफ्नै किसिमका संस्कृति हुर्काएको छ । तराईमा नाचिने ‘जट जटिन’ लोकनाटक पनि यस्तै संस्कृतिको एक उदाहरण हो । मैथिल समुदायका लागि त यो लोकनाटक परम्परागत मान्यताको एक गहना नै हो ।

गतसाता काठमाडौंमा कांग्रेसनिकट नेपाल सांस्कृतिक संघको उद्घाटन समारोह चलिरहेको थियो । सोही कार्यक्रममा जनकपुरबाट आएको मिथिला नाट्यकला परिषद् (मिनाप) को एक समूहले ‘जट जटिन’ नृत्य प्रस्तुत ग–यो । यो धेरै काठमाडौंवासीका लागि नौलो स्वाद थियो ।


लामो समयसम्म पानी परेन भने देउता खुशी पार्नका लागि नाचिने यो नाच मैथिली समुदायमा एक उत्कृष्ट लोकनाटकका रूपमा हेरिन्छ । उही भेषभूषा, उस्तै हाउभाउमा केही जोडी श्रीमान्–श्रीमतीले नाटकमार्फत आफ्ना भनाइ अभिव्यक्त गरेर यो लोकनाटक प्रस्तुत गर्ने गर्दछन् । पानी पर्ने मौसममा पानी परेन भने या लामो समयसम्म खडेरी लाग्यो भने गाउँका केही जोडी (श्रीमान् श्रीमती) जम्मा भएर यो लोकनाटक प्रस्तुत गर्ने गर्दछन् ।

यसो गर्दा पानी पर्ने विश्वास गरिन्छ । यो समुदायमा के विश्वास छ भने नृत्यको प्रभावले अनिवार्य पानी पर्छ । इन्द्र देउताले सुन्छन् र पानी पारिदिन्छन् । गीतमा मायाप्रेम, लडाईं झगडाको भावलाई जोडिएको हुन्छ ।
नाटकमार्फत इन्द्रदेवलाई जिस्काउने प्रचलन पनि छ । ‘यसको शैली एकैनासको हुन्छ । प्रस्तुति पनि एउटै हुन्छ,’ लामो समयदेखि संस्कृतिको जगेर्नामा लागेका मिनापका नृत्य निर्देशक धिरज ठाकुर बताउँछन् ।
उनी भन्छन्, ‘हामी जहाँ जान्छौं, त्यहाँ हामीले यो लोकनाटक प्रस्तुत गरेका हुन्छौं । अबको पुस्ताले हाम्रो संस्कृति नभुलोस् भनेर हामीले यसो गरेका हौं ।’

‘कुनै पनि लोक नाट्य एउटै पात्र तथा संरचनामा रहिरहन सक्दैन । समय अनुसार फेरिँदै जान्छ,’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा नाट्य विभाग प्रमुख रमेश रञ्जन झा भन्छन् । ‘जट जटिन गीतीनाटक होइन । यो लोकनाटक हो ।’ केहीले नाटकलाई गीतको माध्यमबाट प्रस्तुत गरिएको आधारमा गीतीनाटक भनेर व्याख्या गरेको पनि पाइन्छ उनको तर्क छ ।

यो लोकनाटक कतिबेलादेखि शुरु भयो भन्ने यकिन तथ्यांक नभएपनि मान्छेले खेतीकिसानी गर्न थालेदेखि नै यो संस्कृतिको शुरुवात भएको बताउँछन् रमेश रञ्जन झा ।

पहिले लामो समय खडेरी परेर पानी नपर्दा इन्द्रदेव रिझाउन गरिने यो लोकनाट्य पछिल्लो समयमा भने परिष्कृत हुँदै श्रीमान्–श्रीमतीको ख्यालठट्टा, वेदना तथा रमाइलो पक्षलाई समेत समेटेर नाटकमार्फत प्रस्तुत गर्ने गरेको पाइन्छ ।

लामो समय खडेरी प–यो भने भगवान् इन्द्रलाई जिस्काउन यो लोकनाटक प्रस्तुत गरिन्छ । ‘इन्द्रको सबैभन्दा प्यारो जीव भ्यागुतो हो । इन्द्रलाई जिस्काउन विभिन्न शृंगार गरेर नाच्ने र ओखलमा भ्यागुतोलाई कुट्ने गरिन्छ,’ झा भन्छन् ।

कतिपय स्थानमा भने यो नाच सुखी परिवारको कामना गर्दै नाचिन्छ । ‘मधेसमा यसको आफ्नै विशिष्ट स्थान रहेको छ अनि मिथिला समुदायमा यो नाचलाई विशेष मानिन्छ,’ पत्रकार आनन्द गुप्ता भन्छन् । ‘भगवान् इन्द्रलाई रिझाउन यो नाच नाचिने जनविश्वास छ अनि यसमा हाम्रो संस्कृति पनि जोडिएको छ ।’

भोजपुरी समुदायमा भने यो लोकनाटक मूलतः भर्खरै विवाह गरेका नवजोडीले गीतीकथाका रूपमा नाच्ने गर्दछन् । जट (युवा) र जटिन (युवती) को जोडी सामूहिक रूपमा नाच्ने परम्परा पनि यो गीतमा रहेको छ । यसरी नाच्दा श्रीमतीले श्रीमानसँग आफ्ना वेदना पोख्ने गर्दछिन् ।

पछिल्लो समय नेपालमा पनि विदेशी संस्कृति हावी भएको छ । मिथिला समुदाय पनि यो सोचबाट अछुतो रहन भने सकेको छैन । फलस्वरूप यस्ता गीतहरू लोप भएर जाने हुन् कि भन्ने चिन्ता पुरानो पुस्तामा देखिएको छ । तर केही युवा, समुदाय र विभिन्न संस्था आफ्नो संस्कृतिको विकासमा योगदान पु–याइरहेका छन् ।

त्यसैले त कुनै नयाँ ठाउँमा कार्यक्रम प्रस्तुत गर्नुप–यो भने युवाहरू यस्ता नृत्य प्रस्तुत गरिरहेका हुन्छन् ।
आजभोलि भने आधुनिकतासँगै नृत्यको संरचनामा समेत केही परिवर्तन देखिन थालेको छ । कुनै बेला पानी पार्ने अनुरोधसहितको मागलाई नयाँ पुस्ताले यही लोकनाटकमार्फत व्यापकताको खोजी गरेका छन् । भावनाको दायरा फराकिलो भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्