
रत्ननगर (चितवन) १२ असार – नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ ? पत्तै हुन्न ।
घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा आजदेखि एसएमएस सेवा शुरू गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन् । उनका अनुसार एसएमएसबाट मुग्लिन र नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताए । यसअघि, ट्राफिक प्रहरीले फेसबुकमार्फत् सूचना प्रवाह गर्दै आएको थियो ।
यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ । अहिले भर्खरै एसएमएस पठाउँदा, ‘टोपे खोलामा पहिरो, मुग्लिन नारायणगढ सडक बन्द छ, पहिरो हटाउन अझै ५–६ घन्टा लाग्ने अनुमान छ,’ भन्ने सन्देश प्राप्त भयो ।
घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए । यसअघि, कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्रफिक प्रहरीलाई सहयोग गरिएको टिभीका स्टेसन म्यानेजर राजकुमार लामिछानेले बताए ।