
काठमाडौं, १३ असार –नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा अर्जेन्टिना २-१ गोलअन्तरले विजयी भयो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सी र मार्कोस रोहोले गोल गरे ।
खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला रोहोले ८६औं मिनेटमा निर्णायक गोल गरेका हुन् । यदि बराबरीमा खेल टुंगिएको भए अर्जेन्टिना समूह चरणबाटै घर फर्किने थियो ।
नाइजेरियाका लागि भिक्टर मोसेसले बललाई जाली चुमाए । ह्याभियर मस्केरानोले पेनाल्टी बक्समा फल गरेपछि नाइजेरियाले पेनाल्टीको मौका पाएको थियो । मोसेसले त्यही अवसरको सदुपयोग गरेका हुन् ।
जीतसँगै कुल चार अंक जोडेको अर्जेन्टिना 'समूह डी'को उपविजेता हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
सोही समूहको विजेताका रूपमा क्रोएसिया पनि राउण्डअफ सिक्स्टिनमा पुगेको छ । समूहमा शतप्रतिशत जीत निकाल्ने क्रममा उसले आइसल्याण्डलाई २-१ ले पराजित गर्यो ।
नकआउट चरणमा अब अर्जेन्टिनाको भेट 'समूह सी'को विजेता फ्रान्स र क्रोएसियाको भेट उपविजेता डेनमार्कसँग हुनेछ ।