२३ असार २०८३, मंगलबार

कर्णाली प्रदेश सभामा ट्याक्टरको चर्चा, भन्सार छुटका ट्याक्टर व्यापारिक प्रयोगमा

असार १३, २०७५
कर्णाली प्रदेश सभामा ट्याक्टरको चर्चा, भन्सार छुटका ट्याक्टर व्यापारिक प्रयोगमा

सुर्खेत, १३ असार – कर्णाली प्रदेससभा सदस्य अम्मरबहादुर थापाले ट्याक्टरको दुरुपयोग भएको बताएका छन् ।

आजको संसद बैठकमा ‘कर्णाली प्रदेश राजस्व तथा गैरकर राजस्व सम्बन्धी विधेयक–२०७५’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले कृषकका लागि कर छुट गरेर ट्याक्टर दिने सरकारको निर्णय भएपनि व्यापारिक प्रयोजनमा प्रयोग भइरहेको आरोप लगाए ।

‘सरकारले किसानको बारी जोत्न सहयोग पुगोस् भन्ने ध्येयका साथ ट्याक्टरलाई भन्सार छुट गरेको हो,’ सांसद थापाले भने, ‘तर, यहाँ व्यापारिक प्रयोजनका लागि ट्याक्टरको खरिद भएको छ ।’ व्यापारिक प्रयोजनमा प्रयोग हुने ट्याक्टरमाथि राज्यले कर लगाउनुपर्ने उनले बताए ।

छलफलमा भाग लिँदै अर्का सांसद गणेशप्रसाद सिंहले स्थानीय तहमा मनपरी ढंगबाट कर तोकिएको बताउँदै त्यस्तो कार्य नगराउन सभामुखमार्फत् सरकारलाई आग्रह गरे । ‘एउटै सिफारिसको २५ सय रुपैयाँसम्म लिने गरिएको छ । यसले जनताको ढाड भाँच्ने काम गर्दै आएको छ,’ उनले भने, ‘सरकारले नियमन गरोस् ।’

मनपरी ढंगबाट स्थानीय तहले कर उठाउँदा जनता संघीयताप्रति नै रुष्ट हुने सम्भावना आफूले देखेको उनले बताए । ‘जथाभावी कर लगाइनु जायज होइन,’ उनले भने, ‘करमा एकरुपता नभए संघीयता नै फेल हुने खतरा छ ।’

‘कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन सम्बन्धी विधेयक–२०७५’ माथि सैद्धान्तिक रुपमा छलफल गर्दै सांसद विन्दमान विष्टले सरकारले काम गरिसकेपछि विधेयक ल्याउने गरेकोप्रति आपत्ति जनाए ।

‘स्थानीय तहलाई वित्तीय समानीकरण अन्तर्गतको बजेट उहिल्यै सरकारले पठाइसकेको छ,’ उनले भने, ‘बजेट पठाउनु पूर्व विधेयक ल्याउनुपर्नेमा आज ल्याइएको छ । यसले बेथिति बढाउँछ ।’ सांसद विष्टले सरकारलाई कुनै पनि काम गर्दा ऐन बनाएर मात्र काम गर्न सुझाव दिए ।

त्यसअघि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पेश गरेका ‘कर्णाली प्रदेश राजस्व तथा गैरकर राजस्व सम्बन्धी विधेयक–२०७५’ र ‘कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन सम्बन्धी विधेयक–२०७५’ संसदमा छलफलका लागि प्रस्तुत गरेका थिए ।

आजको बैठकमा पेश भएका दुवै विधेयकमाथि संशोधनको सूचना दिन चाहेमा ७२ घण्टाको समय दिइएको छ । अब प्रदेशसभाको २४ औं बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्