
विराटनगर, १३ असार – १ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहित विस्तार गर्ने निर्णय गरेको छ ।
आज अपरान्ह बसेको मन्त्रीपरिषद् बैठकले विमानस्थलको धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने निर्णय गरेको हो । १ हजार ५ सय मिटर लम्बाइ भएको धावन मार्ग विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जरुरी भएको भन्दै संघीय सरकारलाई पत्र पठाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
संघीय सरकारले विराटनगर विमानस्थलको धावन मार्ग २ हजार ४ सय मिटरमा विस्तार गर्ने तयारी थालेपछि प्रदेश सरकारले त्यसलाई ३ हजार पु¥याउनुपर्ने निर्णय लिइएको हो । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न जनस्तरबाट चर्को दबाब आइरहेको र निर्वाचनको बेला अधिकांश राजनीतिक दलले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने वाचा गरेकाले प्रदेश सरकारले महत्वपूर्ण निर्णय लिएको हो ।
यद्यपि, २ हजार ४ सय मिटरको धावन मार्ग सहज विस्तार गर्न सकिने र त्यसबाट अन्तर्राष्ट्रिय उडान भर्न समस्या नहुने भएकाले सहज बाटो रोज्न पर्यटन व्यवसायीले सुझाव दिँदै आएका छन् । मन्त्रिपरिषद् बैठकले पत्रकार ध्रुव सुवेदीलाई मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय समेत गरेको छ । मुख्यमन्त्री शेरधन राई निकट रहेर सञ्चार सम्बन्धी काममा सहयोग गर्दै आएका पत्रकार सुवेदीलाई सल्लाहकार नियुक्त गर्ने निर्णय भएको हो । मुख्यमन्त्री शेरधन राई यसअघि नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री भएको बेला पनि सुवेदी प्रेस संयोजकको रुपमा कार्यरत थिए ।
३ विधेयक संसद सचिवालयमा पठाइने
आजको मन्त्रीपरिषद् बैठकले ३ वटा विधेयकलाई संसद सचिवालयमा पठाउने र २ वटा विधेयक तयार पारेर मन्त्रिपरिषद्मा पेश गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ । बैठकले सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा बनेको विधेयक २०७५, कर तथा गैरकर राजश्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वित्त व्यवस्थापन विधेयक २०७५ सदनमा पेश गर्ने निर्णय छ ।
यसैगरी, विपद् व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र प्रदेशसभा सचिवालय व्यवस्थापन गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक सहमति प्रदान गरिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।