१५ असार २०८३, सोमबार

सुमन भाइ, आफूलाई एक्लो नठान, शोकलाई शक्तिमा बदल्नुपर्छ

कात्तिक २०, २०७४
सुमन भाइ, आफूलाई एक्लो नठान, शोकलाई शक्तिमा बदल्नुपर्छ

प्यारो सुमन भाइ,

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाएको भोलिपल्ट मुटु चिर्ने समाचार पढ्नुप—यो । पाँचतारे होटेलहरूमा दियो बालेर र रिबन काटेर मनाइने मानवअधिकार कार्यक्रम भइरहने राजधानी काठमाडौंबाट नजिकै रहेको काभ्रेमा भने आजसम्म मानवअधिकार–चेत पुग्न सकेको रहेनछ । तिमीले सञ्चारकर्मीहरूलाई दिएको बयान हृदयविदारक, कारुणिक र मुटु हल्लाउने खालको छ । म मात्र होइन, तिम्रो आमाको हत्यामा सचेत समाज रोएको छ । सुमन भाइ, अहिले आफैंलाई सम्हाल्नुपर्छ ।

यो त्यही समाज हो, जहाँ भगवानको नाममा ढुंगामा दूध चढाइन्छ तर भगवानले सृजना गरिदिएको अमूल्य चेतनासहितको मानवजातिलाई भने दिसा कोच्याइन्छ । तिमीले समाजको विकासक्रम पढेका छैनौ होला । आशा छ, तिमीले समाजक्रम पढ्न पाऊ । यसभन्दा अघि पनि सयौं नेपाली र दक्षिण एसियाली आमाहरू अन्धविश्वास र विभेदको शिकार भएका छन् । यदि ईश्वर साक्षात् छन् भने एउटा मानवले अर्को मानवको हत्या गर्दाको पाप चौरासी लाख जुनीसम्म पनि क्षम्य हुँदैन ।
तस्वीर स्रोत: अन्नपुर्णपोष्ट 


सुमन,
तिमीले आफूलाई टुहुरो भएको महसूस गर्नुपर्दैन । यो शोकलाई शक्तिमा बदल्ने समय हो । तिमीलाई जन्म दिने प्यारी आमा यो धर्तीमा हुनुहुन्न । वहाँले क्रूरताको शिकार हुनुप—यो । यसर्थ, वहाँको आत्माले न्याय नपाउञ्जेल हामी लडिरहनुपर्छ । वहाँजस्ता सयौं आमाहरू आजको दिनमा पनि त्यस्तै क्रूरताको शिकार भइरहनुभएको छ, कतिपयले भने सहनशीलता देखाएर बाँचिरहनुभएको छ । आशा छ, यो घटनाले धेरैलाई पाठ सिकाउनेछ । मानवको जुनी लिएर दानवको पराकाष्ठासम्म पुग्नेहरू अवश्य पनि एकदिन सजायको भागिदार हुनेछन् ।

हामीलाई थाहा छ, तिम्रो कलिलो बालमस्तिष्कमा यो भयंकर दुःस्वप्नले धेरै ठूलो असर पारेको छ । यसमा एकजनाको हातमात्र छैन सुमन भाइ, पूरै समाज र देश नै यसको दोषी छ । हिजोदेखि चलिआएका पुराना मान्यताहरूमध्ये कतिपयले यो र यस्ता घटनाहरू गराउन उत्प्रेरकको भूमिका खेलेका छन् । हामीले त्यसलाई सदाको लागि समाजबाट हटाउन आवश्यक छ । यस्ता अन्धविश्वासहरूलाई समाजबाट हटाउन एउटा ठूलै अभियान आवश्यक परेको छ, ताकि अब कहिल्यै बालबालिकाहरू टुहुरा नहोऊन् ।

सुमन भाइ,
भन्नलाई प्रशासन छ भनिन्छ, तर प्रशासनको कान नसुन्ने छ हाम्रो । सांघातिक हमला भइसकेपछि मिलापत्र गरिदिएर पुलिसहरूले के गर्न खोजेका हुन् ? उनीहरूले पनि यो कुराको जिम्मेवारी लिनुपर्छ । उनीहरूले तिम्रो पीडा महसूस गरून्, तिमीलाई आफ्नै बालबच्चा सम्झिऊन् । सीमा नाघेको अमानवीयता कुनै पनि हालतमा क्षम्य हुन सक्दैन । अपराधीहरूलाई गम्भीर सजाय दिइनुपर्छ ताकि तिमीजस्तै बच्चा टुहुरो हुनबाट जोगियोस् । तिमीलाई पढाउने शिक्षक नै यस्तो कुकृत्यमा लागेको कुरा कसरी सहूँ, सुमन भाइ ? शिक्षकको आवरणमा दानवीय हर्कत गर्ने यस्ता दानवहरू बाँच्ने कुनै अधिकार छैन । यस्ता शिक्षकहरूले शिक्षण पेशामा लागेर समाजलाई सही दिशातर्फ डोहो—याएका अरू मानिसको पनि सामाजिक विश्वास लुटेको छ ।
आज सामाजिक भाइ–बन्धुत्वको परिभाषा फेरिएको छ । देशको कानूनको परिभाषा फेरिएको छ । यिनीहरूमा लागेको अविश्वसनीय दाग आज झन् चम्किलो र गाढा भएको छ । समाजमा बसेर सुरक्षित भइन्छ भन्ने मान्यतामा डढेलो लागेको छ । कानूनले सबैलाई बराबर न्याय दिन्छ भन्ने कुरामा झन ठूलो शंका पैदा भएको छ । बालबालिकाहरूको कलिलो बालमस्तिष्कमा पर्ने असरहरू झन गाढा भएका छन् । वास्तवमा भन्ने हो भने आजकल बाँच्नै गाह्रो भएको छ ।

सुमन,
मलाई विश्वास छ, तिम्रो थाप्लोमा परेको यो कहरलाई तिमीले रचनात्मक उपयोग गर्नेछौ । सामाजिक विकृतिको परिणामस्वरूप घटेको यो र यस्तै घटनाहरूलाई निर्मूल पार्ने काम अब तिमी र तिमीजस्तै अन्य पीडित बालबालिकाहरूको हुनेछ । आजसम्म भाषणमा मात्र सीमित रहेका मानवअधिकारका कुराहरू व्यवहारमै लागू गर्न एउटा दृढ अठोट बोकेर तिमी अघि बढ्नुपर्छ । कमजोरहरूको पक्षमा आवाज उठाउने एउटा मसिहा बन्नुपर्छ । इतिहास साक्षी छ, आफूलाई परेको शोकलाई शक्तिमा बदल्न थोरै मान्छेले मात्र सक्छन् र त्यसमा तिमी एउटा बन्नुपर्ने छ । भोलि तिमीलाई देखेर त्यो समाज झुकोस्, सामाजिक विसंगतिहरूको पक्षमा लाग्नेहरूलाई लाज लागोस् । अर्कोपटक कसैले यस्तो सोच्ने पनि हिम्मत नगरोस् । तिम्रो दुःखमा तिमी एक्लै छैनौ, लाखौं आमाहरू छन, लाखौं दाइदिदीहरू छन् र तिमीलाई साथ दिने तिम्रै उमेरका लाखौं साथीहरू छन् ।

विदेशबाट
तिम्रो पीडामा आँसु बगाएको दाइ

salt training

कमेन्ट गर्नुहोस्