२२ असार २०८३, सोमबार

काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधाका ५० बस सञ्चालन हुने

कात्तिक २०, २०७४
काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधाका ५० बस सञ्चालन हुने

काठमाडौं, २८ मंसिर –सरकारले काठमाडौं उपत्यकामा ५० वटा ठूला बस सञ्चालन गर्नेगरी प्रक्रिया अघि बढाएको छ । गत साउनमा प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपत्यकासहित विभिन्न शहरमा अत्याधुनिक सुविधासहितका सय वटा ठूला बस सञ्चालन गर्ने घोषणा गरेसँगै सरकारले सोको प्रक्रिया अघि बढाएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काठमाडौं उपत्यकामा ५० र मुलुकका अन्य ठूला शहरमा बाँकी ५० वटा बस सञ्चालन गर्नेगरी तयारी अघि बढेको बताएको छ ।
काठमाडौं उपत्यकाका साथै पोखरा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, विराटनगर लगायतका शहरमा नगरपालिका मातर्फ ठूला बस सञ्चालनमा ल्याइने छ । बस सञ्चालनका लागि अन्य विभिन्न नगरपालिकाबाट पनि प्रस्ताव आएको मन्त्रालयको भनाई छ ।


काठमाडौं उपत्यकाबाहेकका कुन शहरमा कति बस सञ्चालन गर्ने भन्नेबारे भने निर्णय भइनसकेको मन्त्रालयले जनाएको छ ।  बस खरिदका लागि सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयले करिब १ महिनाअघि अर्थ मन्त्रालसँग ६८ करोड रुपैयाँ माग समेत गरिसकेको छ ।

बस सञ्चालनका लागि मन्त्रालयले काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित एक कम्पनी स्थापना गर्ने तयारी गरेको छ । उक्त कम्पनीमा सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाको निश्चित हिस्सा शेयर रहनेछ । ‘यही कम्पनीमार्फत बस सञ्चालनमा ल्याइनेछ,’ सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह–सचिव जीवनकुमार श्रेष्ठले भने ।

अर्थ मन्त्रालयबाट बजेट प्राप्त भएसँगै कम्पनी दर्ता प्रक्रिया अगाडी बढ्ने श्रेष्ठले बताए । सोही कम्पनीले उपत्यका दिगो सहरी यातायात विकास आयोजनाले तय गरेको मापदण्ड अनुसारका रुट तथा प्रावधानका आधारमा बस गरिद गरी सञ्चालनमा ल्याउने छ ।  ‘अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि बस खरिदका लागि टेण्डर प्रक्रिया अघि बढाउनेछौं,’ मन्त्रालयका सह–सचिव श्रेष्ठले लोकान्तरसँग भने ।

काठमाडौं महानगरपालिका प्रशासन शाखा प्रमुख हरिबहादुर कुँवरले बस सञ्चालनका लागि प्रवन्धपत्र, डिजाइन र स्केच अन्तिम चरणमा पुगेको बताए । सडकको आकार अनुसार चक्रपथ, ठूला सडक र भित्री सडक हेरेर सोही आकारका बस सञ्चालन गरिने उनले बताए । 

चालू आवभित्रै सय नयाँ बस सञ्चालन गर्ने मन्त्रालयको योजना छ । साना सवारीका कारण ट्राफिक जाम बढेको र यात्रुले पनि सास्ती व्यहोर्नुपरेको भन्दै सरकारले तुलनात्मक रूपमा ठूला र स्तरिय बस सञ्चालन गर्ने तयारी अघि बढाएको हो । यसअघि काठमाडौं महानगरपालिकाले साझा यातायात सँगको सहकार्यमा ३० वटा ठूला बस सञ्चालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्