बेलायत, २८ मंसिर – उत्सव र मनोरञ्जनका बखत हामी अति नै बेचैन हुन्छौं, जतिखेर हाम्रा आफन्त भर्खरै बितेका हुन्छन् । यो मान्छेको हकमा लागू हुने कुरा हो तर हामी मानवजातिले भुलेको कुरा, प्राणीहरूमा समेत त्यस्तो हुन्छ । जस्तो कि यो सेतो हाँसका दुई आफन्त बितेपछि उसलाई जीवनका प्रत्येक पल कठिन भएझैं देखिन्छ । करीब १५ वर्षसम्म सँगै रहेका दुई साथी बितेपछि ऊ आफ्नै छायाँ हेरेर साथीहरूको सम्झना गरिरहेको छ ।
.jpg?1481609469098)
पन्ध्र वर्षदेखि सँगै रहेका साथीहरू बितेपछि उसले साथीहरूलाई याद गर्ने नयाँ जुक्ति समेत निकालेको हो । उसले अहिले चम्किला कारका अगाडि गएर कारमा टल्केको आफ्नो मुहार हेर्ने गरेको छ । साथीहरू बित्नुअघि बेलायतको वेस्ट ससेक्समा रहेको एक बगैंचामा तीनवटा हाँसहरू १५ वर्षसम्म सँगै बसे तर गत वर्ष हाँसका दुई मित्र बुढ्यौलीका कारण बिते । यो हाँसलाई पाल्ने कोउर्टिने लस्कम्बका अनुसार अहिले यो हाँस कारमा टल्केको आफ्नै छायाँ हेरर टोलाउने गर्दछ । अनि यो दृश्य देखेर आगन्तुकहरू अनौठो मान्ने गर्दछन् ।
‘हामी भन्न सक्दैनौं कि हाँस एकदमै दुःखमा छ या पुराना दिनहरू सम्झेर रमाइरहेको छ,’ लस्कम्बले भने, ‘हाँस एकदमै टाठो छ तर साथीहरू गुमाएकोमा दुखितझैं नै देखिन्छ । ऊ दिनभर त्यही कालो कारको अगाडि गएर एकोहोरो भएर बसिराख्छ ।’
.jpg?1481609505511)
‘पहिले–पहिले त हामीले हाँसको यो चर्तीकलाबारे अनुमान लगाउन समेत सकेनौं तर पछि हामीले अनुमान लगायौं कि एक्लै भएका कारण उसले यस्तो गरिराखेको छ । ऊ रोज्न पनि काला कारहरू नै रोज्दछ किनभने काला कारमा प्रतिबिम्ब झनै प्रस्ट देखिन्छ ।
जीवनभर ऊ दुई पोथी हाँसहरूसँग बस्ने गर्थ्यो र उनीहरूको ऊ नेताझैं थियो,’ लस्कम्बले भने, ‘कहिलेकाहीँ हामीले सुनेका छौं नि, आफ्नो प्रिय मान्छे मरेपछि एक दुईहप्तामै विक्षिप्त भएर अर्को पनि मरेको ।’ लस्कम्बका अनुसार बिहान साढे ७ बजे जब हाँसलाई खोलिन्छ र दाना दिइन्छ, ऊ सिधै कार भएको ठाउँमा जान्छ र बेलुका नथुनेसम्म ऊ कारमै आफ्नो प्रतिबिम्ब हेरेर बसिरहन्छ । बेलुका फ्याउरो र स्यालले नखाओस् भनेर खोरमा थुनेर राख्ने गरिन्छ ।
.jpg?1481609541257)
‘अब के गर्ने–के गर्ने ! अरू केही हाँसहरू ल्याएर राखिदिने कि भन्ने पनि सोचेका हौं तर ल्याइएका हाँसहरूलाई उसले मन पराउँछ नै भन्ने पनि छैन । हामी ऊ खुशी होस् भन्ने चाहन्छौं,’ लस्कम्बले भने, ‘उसो त हाँस पाल्नेहरूले लगेर यो हाँस सँगै राखिदिए हुन्थ्यो भन्ने पनि हामीलाई लागेको हो, तर कसैले लगेर यसलाई काटेर खालान् कि भन्ने हामीलाई उत्तिकै चिन्ता पनि छ ।’
वाइल्डफोल वेटल्यान्ड्स कोषका वार्डेन भोबे भगनले बताए, ‘सम्भवतः यो हाँस आफ्नै छायाँ देखेर भ्रममा बाँचिरहेको हुनसक्छ किनभने हाँसहरू अत्यन्त सामाजिक प्राणी हुन् ।’
साँच्चै यसरी आफन्तहरू बित्दा शोक मान्ने प्राणीहरूप्रति हामी मानवजाति चाहिँ कत्तिको दया गर्छौं हँ ? -डेलि मेलबाट