काठमाडौं, १७ असार –सांसद नवराज सिलवालले राजधानीमा प्रदूषणको मात्रा डरलाग्दो अवस्थामा पुगेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
'अहिले राजधानीमा प्रदूषणको लेभल खतराको विन्दूभन्दा माथि पुगिसकेको छ । सन् २०१७ मा भएको एक अनुसन्धानअनुसार विश्वकै पाँचौं प्रदूषित शहर रहेछ,' सांसद सिलवालले भने- 'संविधानको धारा ३० मा मौलिक हकअन्तर्गत नागरिकलाई स्वच्छ वातावरणमा बस्न पाउने अधिकार छ, सभामुख महोदयमार्फत् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'
सांसद सिलवालले प्रदूषण नियन्त्रणका लागि राजधानीबाट पूराना सवारी साधन विस्थापित गर्न माग गरे । 'राजधानीमा ११ लाखभन्दा बढी सवारी गुड्छन् । प्रदूषणमा सबैभन्दा ठूलो योगदान थोत्रा सवारी साधनको छ । सरकाले तत्कालै यस्ता सवारी साधनलाई विस्थापित गर्नुपर्यो,' सिलवालले भने- 'फ्रान्सले पनि पेरिसबाट पूराना सवारी साधन विस्थापित गर्दा ४० प्रतिशत प्रदूषण घटेको थियो ।'
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।