०६ साउन २०८३, बुधबार

भयावह विपद् : पहिरोले लियो ७ वर्षमा १६ सयको ज्यान ! कहाँ-कहाँ छ खतरा ?

भयावह विपद् : पहिरोले लियो ७ वर्षमा १६ सयको ज्यान ! कहाँ-कहाँ छ खतरा ?

काठमाडौं, १८ असार – ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । 

कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँ सराइका कारण बढेको वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण बाढी पहिरोको जोखिम बढेर गएको हो । जानकारहरूका अनुसार महाभारत पर्वत श्रृंखलाको भूगोल कमजोर रहेको र सोही क्षेत्रमा डोजर र एक्काभेटरको प्रयोग गरेर सडक निर्माण गरिनाले नै पहिरोको मात्रा बढ्दै गएको हो । 

पछिल्लो ७ वर्षमा बाढी पहिरोका कारण १ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ । यस वर्षको हालसम्म २ सय ७५ जनाको निधन भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा बाढी पहिरोबाट ६ सय ८२ जना घाइते भएका छन् । अविरल वर्षाका कारण ५५ जनाको निधन भएको छ । यस वर्ष मात्रै ६६ करोड ७४ लाख ४३ हजार ६ सय ८२ बराबर रुपैयाँको क्षति भएको छ । 

यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन् । यस्तै दुई हजार १२१ जना घाइते भएका छन् । यस्तै महामारीका कारण पछिल्लो ७ वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् । 

देशभर नै मनसुन सक्रिय भई भारी वर्षा शुरू भएको छ । मनसुनका कारण वर्षा बढी हुने क्रम शुरू भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको देखिन्छ । बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ । 

यसकारण बढ्यो बाढी पहिरो 

भूगर्भविद् डा. कृष्ण देवकोटाका अनुसार पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण पहिरोको जोखिम बढेको हो । बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो । 

यस्तै, अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । केही दिन पहिले बागलुङमा गएको पहिरो त्यस्तै भौगर्भिक कारणले गएको डा देवकोटाको भनाइ छ । धादिङको पछिल्लो पहिरो पनि त्यस्तै प्रकृतिको हुन सक्ने देवकोटाको दाबी छ । 

चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको मात्रामा वृद्धि भएको छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ । 

यस्तै महाभारत पर्वत श्रंखला र चुरे क्षेत्रमा एकखालको दरार पैदा भएको जानकारी दिँदै डा. देवकोटाले भने, ‘प्राकृतिकरुपमा नै सो क्षेत्रमा केही दरार पैदा भएको छ । जसका कारण प्राकृतिकरुपमा नै पहिरोको मात्रा बढ्दै गएको छ । त्यसलाई नियन्त्रणका लागि वन संरक्षण तथा बायो–इन्जिनियरिङ गर्नुपर्छ ।’

पछिल्लो समय मुग्लिन–नारायणगढ सडकखण्डमा बढेको पहिरो पनि मानवीय अतिक्रमणका कारण बढेको उनको भनाइ छ । ‘सडक निर्माण गर्दा बढी मात्रामा मेशिन तथा अन्य उपकरणको प्रयोग गरियो । कमजोर धरातलमा अत्यधिक मात्रामा गरिएका मेशिनको प्रयोग नै पहिरोको कारण बनिरहेको छ,’ उनले भने ।

त्रिशूली नदीका कारण पानीको दबाबसमेत सोही क्षेत्रमा पर्ने, भौगर्भिक दरारसमेत सोही क्षेत्रमा रहेको र सडक निर्माणमा अत्यधिक मात्रामा मेशिनको प्रयोग गरिएका कारण सो सडकखण्डमा दैनिक पहिरो खसेको डा देवकोटाको भनाइ छ । पहिरो नियन्त्रणका लागि बायो इन्जिनियरिङ नै उपयुक्त विकल्प रहेको उनको सुझाव छ । 

कुन–कुन स्थान बढी जोखिममा 

विशेषगरी मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । यस्तै महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत श्रंखलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ । डा. देवकोटाका अनुसार धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्व पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । 

यस्तै, पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी हालतमा राख्नुपर्ने आवश्यकता देखिएको छ । 

के छ सरकारको तयारी 

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न ५ स्थानमा आपत्कालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ । 

राहत तथा उद्धारका लागि आवश्यक हेलकप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्यूपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ । 

यस्तै सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी हालतमा राखिएको छ । 

चट्याङबाट ८ सयभन्दा बढीको मृत्यु 

चट्याङबाट मृत्यु हुनेको संख्यासमेत पछिल्लो समयमा बढेर गएको छ । यस वर्षको हालसम्म मात्रै १ सय १९ पटक चट्याङ परेका कारण ३६ जनाले ज्यान गुमाएका छन् । यस्तै, १ सय ४६ जना घाइते भएका छन् भने १ सय ७७ परिवार प्रभावित भएका छन् । कूल ८५ घरपालुवा जनावरको मृत्यु हुँदा ४ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ । 

विक्रम सम्वत् २०६८ देखि गत चैतसम्म चट्याङका कारण ७ सय ७३ जनाको ज्यान गएको छ । यस्तै सो अवधिमा १ हजार ६ सय ९५ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्