
बुटवल, १८ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पानीजहाज चलाउने विषयलाई चर्चामा ल्याएका छन् । तर, अझै पानीजहाज गुडाउने ठाउँबारे एकीन गरिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सम्बन्धी अभिव्यक्तिलाई प्रतिपक्षले व्यङ्ग्य र आलोचना समेत गर्ने गरेका छन् ।
यसैबीच आइतवार रातिदेखि परिरहेको अविरल वर्षाका कारण भैरहवाको गौतमबुद्ध विमानस्थल जलमग्न भएको छ । विमानस्थल हवाइजहाज उठ्नेभन्दा पानीजहाज गुड्ने स्वरुपजस्तै बनेको छ । सामान्य दृष्टिले हेर्दा विमानस्थल जलमग्न देखिएकाले पानीजहाज गुमाउने भनेर व्यङ्ग्य गर्न थालिएको छ ।
विमानस्थल जलमग्न भएका कारण भैरहवामा हुने हवाई उडान प्रभावित भएका छन् । भैरहवाबाट हुने सम्पूर्ण उडान वर्षाका कारण स्थगित भएको गौतमबुद्ध विमानस्थलका प्रमुख टेकराज पोख्रेलले जानकारी दिए । उनले बिहानदेखि नै वर्षा जारी रहेकाले भिजिविलिटी कम हुदाँ उडान स्थगित गर्नुपरेको बताए ।
उनले भने, ‘बिहानैदेखि पानी परिरहेको छ, जसका कारण भिजिविलिटी क्लियर नहुँदा सोमबार भर्ने सबै हवाइ उडान स्थगित गरेका छौं ।’ उनका अनुसार करीब १३÷१४ हवाई उडान हुनुपर्ने भएपनि वर्षाले स्थगित भएको छ । उनले भिजिविलिटी क्लियर नभएसम्म उडान नहुने जानकारी दिए ।
गत २४ घण्टामा भैरहवामा १ सय ६६ दशमलव ३ मिलिलिटर वर्षा भएको मापन गरिएको गौतमबुद्ध विमानस्थलको मौसम शाखाले जनाएको छ । यो समान्य वर्षाभन्दा बढी वर्षा भएको हो । जसका कारण सबै हवाई उडान प्रभावित भएको छ ।

आइतवार रातिदेखि परेको वर्षाका कारण रुपन्देही लगायत विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । वर्षात्का कारण सिद्धार्थनगर आसपासका क्षेत्रहरू बढी प्रभावित भएका छन् । सिद्धार्थनगर नगरपालिकाभित्र बढी मात्रामा नाला तथा सडकका काम भइरहेकाले नाला अवरुद्ध हुँदा बढी प्रभावित भएका छन् । सिद्धार्थनगर नगरपालिका–३ खजहनामा रहेको खजना निमाविमा कक्षा कोठामा पानी पस्दा आइतवारदेखि जारी परीक्षा स्थगित भएको छ ।

नगरपालिकालाई विद्यालय डुबानमा परेको पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाले ध्यान नदिएको बताउँदै विद्यालयका प्रिन्सिपल, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीले वडा कार्यालयमा धर्ना दिएका थिए ।
आइतवार २४ घण्टामा भैरहवामा ६३ दशमलव २ मिलिलिटर वर्षा भएको थियो ।