टेक राज अवस्थी प्रत्येक पत्रमा माया मिसाएर
अरूहरूले जस्तै प्रेम दर्साउन
मैले पनि एउटा गुलाब
तिम्रो हातमा थमाइदिन्छु भनेर
गएकै हो म पनि फूलबारीमा
जब फूलबारीमा पुगें
पूरै जिन्दगी फूलकै स्याहारमा
बिताएको देखें मालीले
आफ्नै छातीभरि माटो राखेर
हुर्काइरहेका थिए गमलाहरूले
सबै बोझ सहेर आफ्नै शिरमाथि
फुलाइरहेका थिए डालीहरूले
प्रत्येक क्षण घृणा सहेर पनि
सुरक्षा दिइरहेका थिए काँडाहरूले
यो देखेपछि मैले यति मात्र सम्झें
टपक्कै टिपेर लग्यो भने फूल
त्यति नै मन दुख्नेछ यिनीहरूको
जति मेरो मनमा पसग्नेछ चोट
तिमीलाई कसैले टपक्क टिपेर
लग्यो भने मबाट
मैले यिनीहरूमा मेरो अनुहार देखें
फूलहरूमा तिम्रो अनुहार
त्यसैले मन दुखाएर मालीको
उजाड बनाएर डालीहरू
नाङ्गो बनाएर फूलबारी
फूल टिप्न सकिनँ तिम्रा लागि
बरू रोपेर आएको छु एउटा गुलाबको बोट
हाम्रै प्रेमका नाममा फुलिरहोस् प्रेमजस्तै भनेर
र मनभरि माया बोकेर आएको छु
रित्तो हात यसपालि पनि तिमीसँग
प्रेम दिवस मनाउन ।
कवि अवस्थी