०४ असार २०८३, बिहीबार

कहाँ -कहाँ पहिराेकाे जोखिम ? यस्तो छ सरकारको तयारी

असार १९, २०७५
कहाँ -कहाँ पहिराेकाे जोखिम ? यस्तो छ सरकारको तयारी

अविरल वर्षाले पहाडमा पहिरो र तराईमा डुबान हुँदा सोमबार देशका विभिन्न ठाउँमा ११ जनाको मृत्यु भएको छ । पहिरोको कारण पहाडी जिल्लाहरूमा सडक अवरुद्ध भएको छ भने तराईमा डुबानका कारण जनजीवन प्रभावित भएको छ ।
आइतबारदेखि सोमाबारसम्मै अविरल वर्षा जारी छ । 
विशेष गरी, मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी छ । यस्तै, महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृंखलाबीचको क्षेत्र, बुटवल–पाल्पा सडक खण्ड र नेपालगन्ज–सुर्खेत–जुम्ला सडक खण्ड पनि पहिरोको उच्च जोखिममा छन् ।
 धनगढी–डडेल्धुरा सडक खण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्वी पहाडका धेरैजसो जिल्लासमेत पहिरोको जोखिममा रहेका छन् । यस्तै, पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । ती क्षेत्रमा राहत तथा उद्धारका लागि तम्तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता देखिएको छ ।

गृह मन्त्रालयका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपतकालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।
राहत तथा उद्धारका लागि आवश्यक हेलिकोप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै, सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्युपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ । साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ ।यस्तै, सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै, स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारी हालतमा राखिएको छ, राजधानी दैनिकमा खबर छापिएकाे छ ।

salt training

कमेन्ट गर्नुहोस्