१३ असार २०८३, शनिबार

राप्रपा राजसंस्था र हिन्दु धर्मको पक्षमा

कात्तिक २०, २०७४
राप्रपा राजसंस्था र हिन्दु धर्मको पक्षमा
काठमाडौं: संसद्‌मा चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राजसंस्था र हिन्दु धर्मको पक्षमा उभिएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजसंस्था र हिन्दु राष्ट्रलाई पार्टी नीति बनाउने निर्णय गरेको हो। नेपालको संविधान २०७२ लाई आलोचनात्मक समर्थन गरेको तत्कालीन राप्रपा नेपाल र गणतन्त्रलाई स्विकारेको राप्रपाबीच एकतापछि पार्टीले एउटै धारणा बनाएको छ। फागुन पहिलो साता राप्रपाको एकता महाधिवेशन हुँदैछ।

आगामी महाधिवेशनमा पेस गर्नका लागि अध्यक्ष कमल थापाले तयार गरेको पार्टीको नीति, सिद्धान्त र कार्यदिशामा राजसंस्था र हिन्दु राष्ट्रलाई पार्टी नीति बनाएर अघि बढ्ने विषय उल्लेख छ। दुई पार्टी एकता हुँदा हिन्दु धर्मका विषयमा सहमति भए पनि राजसंस्थाका विषयमा पछि टुंगो लगाउने सहमति भएको थियो। थापाले पेस गरेको २२ पृष्ठ लामो प्रतिवेदनमा राष्ट्रिय एकता संवद्र्धन गर्ने लक्ष्यका लागि राष्ट्रियतासँग सकारात्मक रूपमा जोडिएको विषयलाई उपयोग गर्न जरुरी रहेको समाचार आजको अन्‍नपूर्ण पोस्ट् दैनिकमा बालकुमार नेपालले लेखेका छन्।

प्रतिवेदनमा शान्ति, स्थायित्व र विकासका लागि राजसंस्था अनिवार्य आवश्यक भएको जनाइएको छ। 'एक दशकको घटनाक्रम र देशको वर्तमान अवस्थाले समेत राजसंस्थाको आवश्यकता पुष्टि गरेको छ', थापाले लेखेका छन्। 'सार्वभौमसत्ता जनतामा निहित रहने देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राष्ट्रियता र संस्कृतिको एकताको प्रतीकका रूपमा राजसंस्था रहने छ', प्रतिवेदनमा उल्लेख छ। थापाले नेपालमा गणतन्त्र स्थापना भइसकेको परिप्रेक्ष्यमा राजसंस्थाबारे प्रत्यक्ष जनमत संग्रहको विकल्प पनि अगाडि सारेका छन्।

salt training

कमेन्ट गर्नुहोस्