काठमाडौं, फाल्गुन ३- आज फेब्रुअरी महिनाको चौध तारिक अर्थात प्रेमी-प्रेमिकाहरुको विशेष पर्व भ्यालेनटाइन डे (प्रणय दिवस)। आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक-अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान-प्रदान गर्दै छन्।
आज कोही आफ्नो श्रीमानसँग डिनरका लागि रेष्टुराँ जादैछन त कोही आफ्नो प्रमिकासँग विभिन्न मलमा आयोजना गरिएको भ्यालेनटाइन डे को कार्यक्रममा सहभागी हुदैछन्। अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि अमेरिका-युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ। यसैको नमूनाको रुपमा नेपालमा पनि आज अर्थात हरेक वर्षको १४ फेब्रुअरीका दिन 'भ्यालेन्टाइन डे” मनाइने गरिन्छ।
विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने “भ्यालेन्टाइन डे”ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ।
अहिले त झन देश र संस्कृतिको सीमा छिचोल्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ। प्रेमी प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ।
यस दिन राखिएका प्रेम प्रस्तावलाईप्रेमी वा प्रेमिकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ। आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ।
भ्यालेन्टाइन डे नजिकिदै गर्दा भ्यालेन्टाइन डेको दिन के गर्ने के गिफ्ट दिने भन्नेकुरा अघिल्लो दिननै सोच्ने गर्दछन्।“भ्यालेन्टाइन डे” मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन रहिआएको छ।
यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो। गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ।
गुलाबी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो। पहेँलो गुलाफचाहि मित्रताको प्रतीक मानिन्छ।
मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजो आज मित्रताको प्रतीकका रूपमा”भ्यालेन्टाइन डे” मा पनि यसको प्रयोग हुन थालिसकेको छ। सेता गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो। भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ।
प्रणय दिवस नेपालमा पनि प्रेमि-प्रेमिकाहरुको लागि भनेर विभिन्न ठाउँहरुमा स्पेशल पार्टीको समेत आयोजना गरिएको छ भने कलेजमा प्रेम पत्र लेखन प्रतियोगीताको आयोजना गरिएको छ।

बालकोटमा बस्दै आएकी सुशीला पाण्डेले भ्यालेन्टाइनको दिन अफिस नगएर हजबेन्डसँग डिनरको लागी जाने बताए। उनले केही मुस्कुराउदै भनिन्, ‘मैले हजबेन्डको लागी रेड रोजका साथै स्पेशल गिफ्ट दिदैछु। जेहु भ्यालेन्टाइनको दिनमा म हजबेन्डको लागी पुरै समय दिदैछु।'
यस्तै नेपाल मानविकी क्याम्पस (आरआर)मा बिए प्रथम वर्षमा अध्ययन गरिरहेका गोपाल(नाम परिवर्तन)ले आफ्नी दुई वर्षदेखि हराएकी प्रेमिकासँग डेटिङ जाने प्लान बनाइसकेको बताए। बल्ल कुरा मिल्यो, विछोड भएको दुई वर्षमा मिलन हुदैछौ, अब डेट त जानै पर्यो नि!”उनले भने।
यस्तै कोटेश्वर कलेजमा बिएड तेश्रो वर्षमा पढ्दै गरेकी रेश्मा श्रेष्ठले भ्यालेन्टाइनको दिन कलेज नआइ बिहानै सनराइज हेर्न नगरकोट जाने बताइन। उनले केही लजाएको भावमा भनिन्, 'भ्यालेन्टाइन डे मा साच्चै एक्साइटेड भएको छु' उनले हास्दैं भनिन्, 'सनराइज हेरिसकेपछि फिल्म पनि हेर्न जादैछौ साथै सरप्राइज पनि दिने विचार गरेको छु।'
यस्तै भोजपुर स्थायी घर भइ आरआर क्याम्पसमा भर्खरै मात्र बिए तेश्रो वर्ष पढ्न सुरु गरेका सुदेशजंग राईले माया प्रेमको परिभाषा बुझेर नै यो दिवस आएको र उक्त दिन आफू घरको सदस्य, इष्टमित्रसँग मनाउने योजना रहेको बताए।
आफ्नो बोइफ्रेन्डसँग गोदावरी घुम्न जाने प्लान बनाइसकेकी सन्जु तिमिल्सिनाले मख्ख पर्दै भनिन्, 'मैले मेरो बोइफ्रेन्डको लागि रेड रोज दिन्छु, यसले हामीबीच झन् आत्मियता बढाउँछ।'
भर्खरै विवाह बन्धनमा बाधिएकी अनिता बरालले भ्यालेन्टाइनको दिन डिनरको लागि हजबेन्डसँग जाने बताइन्। उनले मुस्कुराउदै भनिन्, 'यसपालिको भ्यालेन्टाइनको दिनमा खासै गिफ्ट त केही दिदिन होला।उहाँ बिहानै अफिस जानुहुन्छ त्यसैले डिनरको लागि सँगै जाने प्लान बनाएका छौँ।'
बिबिएस प्रथम वर्ष पढ्दै गरकी गोमा राईले भ्यालेन्टाइनको दिन बनेपा घुम्न जाने योजना सुनाइन्।बोइफ्रेन्डसँग घुम्न जाने हो भन्ने प्रश्नमा उनले भनिन्, 'बोइफ्रेन्डनै छैन त्यसैले बहिनिसँग घुम्न जाने।'
पिपुल्स क्याम्पसको बीबीएस दोस्रो वर्षमा पढ्दै गरेकी अनिता मैनालीले भ्यालेन्टाइन डेको दिन खासै केही प्लान नभएता पनि साथीभाईसँग रमाइलो गर्ने बताइन्। यसैगरी प्रणय दिवस मनाउने सन्दर्भमा एनसीसी कलेजका रमा दाहाल (नाम परिवर्तन)ले भ्यालेनटाइन डे बारे याद रहेको बताइन्। 'प्रेमीले त्यो दिनको कार्यक्रमको सेट गर्दै होला' उनले लजाउँदै भनिन्।
नेपालको संस्कृतिभित्र नपरे पनि 'मायासँग गाँसिएकोले यो दिवस मनाउनेहरुको जमात वर्षेनी नेपालमा बढ्दै गएको पाइन्छ। भक्तपुरको सिवर्ड कलेजका विद्यार्थी सुसनले आफ्नो प्रेमिकासँग नगरकोट घुम्न जाने योजना बनाएका छन्। उनले भने- 'माया सबैमा हुन्छ, भ्यालेन्टाइन माया साटासाट गर्ने दिन हो, नगरकोट जान्छु होला।' तर उनको दुखेसो कलेज बिदा नहुने कुरामा छ।
यो दिवस नयाँ प्रेम प्रस्ताव राख्ने दिनको रुपमा लिन्छन् हरेक युवायुवती। अझ् प्रेमी प्रेमीकाबीच मात्र नभई, आफन्तसँग माया साटासाट गर्ने दिनकोरुपमा पनि लिने गर्छन्।
त्यसो त भ्यालेन्टाइन युवापुस्ताले मात्र नभई विवाहित महिला पुरुषले पनि एक अर्कामा माया गरेको आभाष दिन मनाउने गर्छन्। भ्यालेन्टाइन दिन गोदावरी,नगरकोट, धुलिखेल र विभिन्न होटल रेस्टुरेन्टहरुमा पारखीहरुको खचाखच हुने गरेको छ। भ्यालेटाइनमा विशेषगरी पूष्प गुच्छा उपहार दिने, माया आदान-प्रदान गर्ने गर्छन्।
अहिलेको एकाइशौ शताब्दीमा आएर सूचना, सञ्चार र प्रविधिको माध्यमबाट यस्ता गैरदेशीय संस्कृति मौलाउन टेवा पुगेको कतिपय बुद्धिजीवीहरुको भनाइ छ। आफ्नोपनलाई छाँयामा पार्ने यस्ता आयतीत संस्कृतिलाई सही ढंगले मनाउन आवश्यक रहेको उनीहरुको भनाई छ।
उनीहरुले स्वतन्त्र हिसाबले प्रेम दिवस मान्दा छाडापनको संस्कृति भित्रिने हो कि भन्ने आशंका पनि सँगसगै बढ्दै गएको दाबी समेत गरेका छन।
संस्कृतिलाई पूर्णरुपमै बन्देज नभई, व्यवस्थित बनाउन पर्नेमा उनीहले जोड छ।माया आदान-प्रदान गर्नु अनौठो नभएको तर त्यस कार्यले हाम्रो जस्तो समाजमा पार्ने असरबारे पनि सचेत र ध्यान पुर्याउनु पर्ने जरुरी ठान्छन्।