०३ असार २०८३, बुधबार

पाँचौँ फर्मा एक्स्पो फागुन २० देखि

कात्तिक २०, २०७४
पाँचौँ फर्मा एक्स्पो फागुन २० देखि
काठमाडौं, ३ फागुन –नेपाली औषधि उत्पादक कम्पनीहरूको छाता संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले आगामी फागुनमा तीन दिने फर्मा एक्स्पो गर्ने भएको छ । उपभोक्ता, लगानीकर्ता र सरकारी निकायलाई औषधि उद्योगको विकास तथा अनुसन्धानबारे जानकारी दिने हेतुले एक्स्पो आयोजना गर्न लागिएको संघले जनाएको छ ।

संघका अध्यक्ष शंकर घिमिरेले एक्स्पो आगामी फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने जानकारी दिए ।

एक्स्पोमा नेपाली र भारतीय औषधी तथा औषधिसँग सम्बन्धित कम्पनीका सय भन्दा बढी स्टल रहनेछन् । तीमध्ये ६० प्रतिशत स्टल भारती कम्पनीकै रहने आयोजकको भनाई छ ।

यो वर्ष एक्स्पोको दोस्रो दिन चिकित्सक दिवससमेत परेकाले चिकित्सक लक्षित विशेष कार्यक्रम समेत गर्ने योजना रहेको अध्यक्ष घिमिरेले बताए ।

संघका महासचिव तथा एक्स्पोका संयोजक दिपक प्रधानले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय उद्योग, उपकरण, प्रविधि, उत्पादन र बजार व्यवस्थापन बुझ्ने अवसर प्राप्त हुने बताए । उनका अनुसार प्रदर्शनीमा फर्मा प्रोसेसिङ, उत्पादन मेसिन, उपकरण, प्याकेजिङ मेसिन, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरणलगायत रहनेछन् ।

‘गुणस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकलाई एउटै थलोमा ल्याएर अन्तक्र्रिया गराउने तथा वैज्ञानिक उपलब्धिबारे जानकारी गराउने प्रदर्शनीको उद्देश्य रहेको छ,’ प्रधानले भने, ‘प्रदर्शनी विगतका वर्षहरूको भन्दा फरक र आकर्षक हुनेछ ।’

संघका कोषाध्यक्ष तथा एक्स्पोका प्रवक्ता प्रज्वलजंग पाण्डेका अनुसार प्रदर्शनीमा रक्तदान तथा निःशुल्क दन्त शिविर पनि हुनेछ ।

प्रदर्शनीमा अन्तरफर्मास्युटिकल तथा जुनियर डक्टर्स फुटसल नकआउट गेम हुने पनि आयोजना गरिने छ ।
५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अनुमान आयोजकको छ । संघले आयोजना गर्न लागेको यो पाँचौँ फर्मा एक्स्पो हो ।

संघले गत वर्ष भूकम्प र नाकाबन्दीका कारण एक्स्पो आयोजना गर्न सकेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्