
काठमाडौं, २२ असार –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहिबार बसेको स्थायी समिति बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक ओली सरकारको आलोचना भएको हो ।
केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए ।
बैठकमा ओलीले भने सरकारमाथि चौतर्फी आक्रमण भइरहेको भन्दै पार्टीका जिम्मेवार नेताहरुले प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टी र सरकारमाथि चौतर्फी हमलाको प्रयास हुँदा पनि नेताहरु मौन बसेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।
उनले आफू नेतृत्वको सरकारले जनताको पक्षमा काम गरिरहँदा पनि आलोचना हुनु दुःखद भएको धारणा राखेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले हालैको आफ्नो चीन भ्रमणका उपलब्धिबारे पनि अवगत गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले चीन र भारत भ्रमणबाट ती मुलुकसँग नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा राम्रो र प्रभावकारी सम्बन्ध विकास भएको तथा आपसी हितमा सम्झौता भएको बताएका थिए ।
यसैबीच बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको छ ।
प्रदेश प्रमुखले राजीनामा नदिए फिर्ता बोलाइने
सरकारले ७ प्रदेश प्रमुखले राजीनामा नदिए फिर्ता बोलाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले गोविन्द सुब्बा (प्रदेश १), रत्नेश्वरलाल कायस्थ (प्रदेश २), अनुराधा कोइराला (प्रदेश ३), बाबुराम कुँवर (प्रदेश ४), उमाकान्त झा (प्रदेश ५), दुर्गा खनाल (कर्णाली) र मोहनराज मल्ल (प्रदेश ७) मा नियुक्ति गरेको थियो ।
तर, केपी ओली नेतृत्वको सरकारले देउवाले नियुक्त गरेका २०७४ भदौयता भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेका छ ।
निर्णयसँगै प्रदेश प्रमुखलाई राजीनामाको दबाब परेको छ । प्रदेश प्रमुखले राजीनामा नदिएमा सरकारले राष्ट्रपतिलाई सिफारिस गरेर फिर्ता बोलाउने तयारी गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरूको नियुक्ति पनि राजनीतिक नियुक्ति नै भएको भन्दै निश्चित समयभित्र प्रक्रिया पु¥याएर आवश्यक निर्णय गर्ने बताए ।
कांग्रेसको आक्रोश
सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै कांग्रेसले समयमै सच्चिन चेतावनी दिएको छ । अन्यथा चौतर्फी दबाबको सामना गर्नुपर्ने उसको चेतावनी छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘असार २० गते वर्तमान सरकारले गरेका दुई अलग निर्णयले सरकार स्वच्छेचारी ढंगले अघि बढ्न लागेको ठहर हामीले गरेका छौं । सरकार समयमै सच्चियोस् भनेर अपिल गर्नु हाम्रो कर्तव्य हो, सच्चिन सकेन भने चौतर्फी दबाबको समना गर्नुपर्ने चेतावनी दिन चाहन्छौं ।’
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति उल्ट्याउने सरकारी निर्णयको उनले विरोध गरे ।
सशस्त्र प्रहरीका पाँच एआइजीद्वारा राजीनामा
सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी)ले राजीनामा दिएका छन् ।
राजीनामा दिइनेहरुमा जानकीराज भट्टराई, सुबोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले रहेको गृहमन्त्रालयले जनाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँच एआइजीको राजीनामा गृहमन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका हुन् ।
विरोध प्रदर्शनमा रोकविरुद्ध रिट निवेदन
सर्वोच्च अदालतमा केही सार्वजनिकस्थलमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिट निवेदनमा मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा निष्प्रभावी हुने गरी गैरकानूनी निर्णय कार्यान्वयन नगर्नू, नगराउनू भनी उत्प्रेषणको आदेशको माग गरिएको छ ।
कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष
सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरिएको छ ।
सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि अर्थ मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो ।
सो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाएको अर्थ मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको उक्त विधेयकलाई सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो ।
विधेयकमा यसअघि ५८ बाट ६० वर्ष उमेरको हदबन्दी राखिएको थियो । पछि पुनः ६० वर्षलाई हटाएर ५८ वर्ष कायम गरिएको थियो ।
तर अहिले पुनः अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको सहमतिपत्रमा ६० वर्ष उमेर हदबन्दी कायम गर्न उल्लेख गरिएको छ ।
अर्थमन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सहमति गरेर पठाएको विधेयकमा निवृत्तिभरणमा थपिँदै गएको बोझ, औसत आयुमा भएको वृद्धि सबै तह र सेवामा देखिएकाले अवकासित उमेरको विविधता, प्रदेश तथा स्थानीय तहको नयाँ संरचनाअनुसार अनुभवी कर्मचारीको आवश्यकता परेको भन्दै विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष राख्न थालिएको उल्लेख गरिएको छ ।
नयाँ सडक र दरबारमार्गमा स्मार्ट पार्किङ
काठमाडौँ महानगरपालिका आगामी साउनदेखि पार्किङ व्यवस्थित गर्न स्मार्ट पार्किङ निर्माण प्रक्रियामा जाने भएको छ ।
काठमाडौँमा अव्यवस्थित पार्किङको समस्या व्यवस्थापन गर्न साउन पहिलो हप्तादेखि खरीद एकाइ प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणमा परीक्षणका रुपमा लगिने पार्किङको सुविधा नयाँ सडक र दरबारमार्गबाट नागरिकले पाउनेछन् । ती दुई स्थानको प्रभावकारिता हेरी अन्य स्थानमा पनि पार्किङ गरिने योजना कामपाको छ ।
कोही व्यक्ति नयाँ सडक जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिले नै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सक्छन् । ढकालका अनुसार एकै समयमा पनि धेरै सवारी साधन राख्न सकिने भएकाले काठमाडौँ ठूलो समस्याका रुपमा रहेको ट्राफिक जाम कम हुने छ ।
गंगामायाको जीवन रक्षा गर्न आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कारवाहीको माग गर्दै अनशनरत गंगामायाको जीवन रक्षाका लागि अविलम्ब आवश्यक पहल गर्न सरकार र न्यायसम्बद्ध सबै पक्षलाई विशेष आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकार प्राप्तिका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको स्वास्थ्य अवस्था गम्भीर एवं जटिल बन्दै गएको अवस्थाप्रति ध्यानमा राख्न तत्काल आवश्यक पहल गर्न भनिएको छ ।
कृष्णप्रसादको हत्या सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेशको कार्यान्वयन गर्न आयोगले सरकारलाई पत्राचार एवं सिफारिश गर्नाका साथै सरकारका जिम्मेवार पदाधिकारीसँग पटक पटक छलफल गरी ध्यानाकर्षण गराउँदा समेत यस्तो संवेदनशील विषय कार्यान्वयनको प्राथमिकतामा नपर्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।
गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ
महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले होटल, रेष्टुराँ र डान्सबारमा गई रकम असुल्ने तथा झैँझगडा गर्ने गरेको भनी स्थानीयवासीले दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
दोहोरो अंकले बढ्यो शेयर बजार
शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।
शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ ।
हिजो ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा हिजो भने सबै उपसूचकमा हरियाली छाएको छ । सबै उपसूचकमा हरियाली छाएर साताको अन्तिम दिन शेयर बजारले लगानीकर्तामा उत्साह थपिदिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६८ कम्पनीको १२ लाख एक हजार ४३३ कित्ता शेयर रु ४६ करोड २० लाख १८ हजार ६३० मूल्यमा खरिद बिक्री भएको छ । कारोबार रकममा समेत वृद्धि भएको छ ।
स्टकका अनुसार बैंकिङ २६.७७, होटल ५८.६, विकास बैंक ३७.२८, जलविद्युत् ५२.०२, वित्त ८.७८, बीमा ३२२.४३, अन्य ८.४८ र माइक्रोफाइनान्स ८५.९ बिन्दुले बढेको छ । व्यापार समूह समान्य रह्यो भने उत्पादन समूह भने ३७.३४ बिन्दुले घटेको छ ।