१४ असार २०८३, आइतबार

थाइल्यान्डको गुफामा किशोरहरूलाई लैजाने प्रशिक्षक हिरो कि जिरो : भइरहेछ बहस

थाइल्यान्डको गुफामा किशोरहरूलाई लैजाने प्रशिक्षक हिरो कि जिरो : भइरहेछ बहस

काठमाडौं, २२ असार – थाइल्यान्डको गुफामा विगत कैयौं दिनदेखि फसेका किशोर फूटबल खेलाडीका प्रशिक्षकले प्रशंसा र आलोचना दुवै पाएका छन् । 

केही मानिसले प्रशिक्षककै कारण किशोरहरू त्यहाँ फसेको भनेका छन् भने केहीले प्रशिक्षककै सुझबुझका कारण किशोरहरू सकुशल रहेको बताएका छन् । 

एकापोल चानथ्वाङ ११ देखि १६ वर्षसम्मका किशोरको टोली वाइल्ड बोआर्सका सहायक प्रशिक्षक हुन् । अधिकारीहरूका अनुसार, एकापोलले नै किशोरहरूलाई असार १६ गते गुफामा लगेका हुन् । भारी बर्खाका कारण गुफामा पानी पसेपछि उनीहरू त्यहीँ फसे । 

सोमवार गोताखोरहरूले किशोरहरूलाई भेट्दा कमजोर तर सुरक्षित देखे । अहिले उनीहरूलाई खाना पु–याइएको छ अनि एक चिकित्सक पनि उनीहरूसँगै छन् । उद्धारकर्ताहरू किशोरहरूलाई सुरक्षित बचाएर ल्याउने कोशिश गरिरहेका छन् । थाइ प्रहरी अधिकारीहरूले एकापोलमा लागेको लापरवाहीको आरोप खारेज गर्न अस्वीकार गरेको छ ।

बैंकक पोस्टले एक रिपोर्टमा लेखेअनुसार, प्रशिक्षकले किशोरहरूलाई लगातार पानी पियाए । उनले बाढीका कारण गुफामा भरिएको पानी नभई गुफाको भित्तोबाट चुहिएको पानी पियाएका थिए । अनि उनले किशोरहरूलाई आफूसँग भएको केही खानेकुरा पनि दिए । 

एक थाइ नेभी सीलले सनूक नामक वेबसाइटलाई बताएअनुसार, एकापोलको हालत किशोरहरूको भन्दा खराब छ । उनले किशोरहरूलाई ध्यान गर्न भने ताकि उनीहरू शान्त रहून् र भोकका बारेमा नसोचून् । 

अन्य समाचारमा आएअनुसार एकापोल अनाथ हुन् र उनले आफ्नो आधी जिन्दगी मन्दिरमा बिताएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्