काठमाडौं, २२ असार – सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जूले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । तर दत्तकी ठूली छोरी त्रिशलाले फिल्मका बारेमा कुनै कुरा लेखेकी वा भनेकी छैनन् ।
राजकुमार हिरानीको निर्देशनमा बनेको यो फिल्ममा रणवीर कपूरले सञ्जयको भूमिका निर्वाह गरेका छन् ।
सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय रहने त्रिशलाले पिताको जीवनीमा आधारित फिल्मका बारेमा केही टिप्पणी नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
त्रिशला यो फिल्मबाट खुशी छैनन् भनी अनुमान गर्न थालिएको छ । त्रिशलाले सञ्जय दत्तसँग राम्रो सम्बन्ध बनाएकी छन् र पितासँगको प्रेमलाई सामाजिक सञ्जालमा झल्काउने गरेकी छन् ।
तर सञ्जू रिलिज भएदेखि त्रिशला मौन बस्नुले उनी खुशी नभएको संकेत दिन्छ ।
फिल्ममा त्रिशलाकी आमा रिचा शर्माका बारेमा केही उल्लेख छैन । रिचाको मृत्यु क्यान्सरबाट भएको थियो तर फिल्ममा न रिचाको, न त्रिशलाको नै उल्लेख छ ।
फिल्ममा बरू सञ्जय दत्तकी पूर्वप्रेमिकाको उल्लेख छ । उनको भूमिका सोनम कपूरले निर्वाह गरेकी छन् ।
सञ्जयकी तेस्री पत्नी मान्यता र उनका बच्चाहरूलाई फिल्ममा राम्रै उल्लेख गरिएको छ । मान्यताको भूमिकामा दिया मिर्जाले राम्रो अभिनय गरेकी छन् ।
एजेन्सी