
काठमाडौं, २३ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सडक यात्रा जोखिमपूर्ण बन्दै गएको भन्दै सडक यात्राप्रति थप सचेतता अपनाउँदै दुर्घटना न्यूनीकरणमा ध्यान सम्बद्ध सबैमा अपिल गरेको छ ।
नेकपाका महासचिव विष्णु पौडेलले एक विज्ञप्ति जारी गर्दै सडकको खराब अवस्था, सवारी सञ्चालन गर्दा ट्राफिक नियमको उल्लंघन, धेरै पुराना सवारी साधनहरुको प्रयोग, यात्रु ओसारपसार गर्न नमिल्ने सवारी साधनहरुमा यात्रा जस्ता कुराहरुले सडक यात्रालाई जोखिमपूर्ण बनाएको उल्लेख गरेका छन् ।
उनले मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका– ३, स्याङ्बोचेमा बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटनामा परी २० मजदुरले ज्यान गुमाउनु परेको घटनाबाट पार्टी अत्यन्त मर्माहत भएको भन्दै यस दुुःखको घडीमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।