
काठमाडौं, २४ असार –विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलमा धरपकड गरेर सरकारले सर्वसत्तावादी रवैया देखाएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेसले यसबारे जानकारी गराउन सरकारसँग माग गरेको छ ।
आइतवार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्षसँग समय लिएर नेपाली कांग्रेसका बद्री पाण्डेले उपकुलपतिलाई विमानस्थलबाट धरपकड गरिएको घटनाले सरकार अधिनाकयवादतर्फ उन्मुख भएको पुष्टि हुने बताएका हुन् ।
‘सरकारको प्रारम्भदेखिको रवैया र गतिविधिले आशंका उत्पन्न भइरहेको थियो । कांग्रेस मात्र होइन अन्य पक्षबाट समेत अधिनायकवाद र सर्वसत्तावादतर्फ उन्मुख छन् भन्ने टिप्पणी भइरहेको थियो,’ पाण्डेले संसदमा भने, ‘हिजो त्यस्तै निरंकुश चरित्रको घटना भएको छ । सबै प्रक्रिया पूरा हुँदैगर्दा ६ जनालाई बाहिर जाने अनुमति दिइयो, टोली नेतालाई धरपकड गरेर बालुवाटारमा ल्याइयो ।’
सांसद पाण्डेले सवा ५ बजे बालुवाटार लगिएका कोइरालालाई प्रधानमन्त्रीले समय पाउनुभएन भनेर साढे ७ बजे मात्र बाहिर जान अनुमति दिइएको बताए ।
‘विमानस्थलमा भएको घटनाले सरकारको निरंकुश चरित्र मात्र उदाङ्गो भएको छैन, सन् २०२४ मा नेपालमा विश्वसम्मेलन गर्ने अवसर र नेपालको व्यक्तित्व प्रस्तुत गर्ने फोरमलाई समेत सरकारले अप्ठ्यारो पार्ने कदम उठाएको छ,’ पाण्डेले भने ।
यसअघि क्यानडा जान लागेका कोइरालालाई हिजो प्रहरीले विमानस्थलबाट प्रधानमन्त्री निवास बालुवाटार पुर्याएको थियो ।