
काठमाडौं –नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा दुईतिहाइ समर्थन र सत्ताको दम्भ देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चिकित्सा शिक्षाका क्षेत्रमा विभिन्न सुधारका मागसहित अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका सम्बन्धमा कांग्रेस सांसद दिलेन्द्र बडुले संसदमा पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सोमबार धारणा राख्दै गगनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
के भने गगनले ?
सम्माननीय सभामुख महोदय! म अहिले डा. गोविन्द केसीको जीवनरक्षाका विषयमा केन्द्रित हुन चाहन्छु ।
यही विषयलाई लिएर चिकित्सक संघका साथीहरू प्रधानमन्त्रीलाई भेट्न गएका रहेछन् ।
प्रधानमन्त्रीज्यूले भन्नुभएछ- एउटा मान्छेले भनेर म डराउने झुक्ने मान्छे होइन । स्वास्थ्य क्षेत्रमा के गर्दा हुन्छ, कसैले मलाई सिकाउनुपर्दैन ।
२०५९ सालमा महाराज ज्ञानेन्द्रले शासन लिइबक्स्यो । रत्नपार्कमा केही मान्छे संसद पुनर्स्थापनाको माग राखेर सडकमा बसेका रहेछन् ।
शुभचिन्तकले गएर महाराजलाई यो कुरा सुनाएछन् ।
उनीहरूले के भनिरहेका छन् ? महाराजले सोधिबक्सेछ । उनले भनेछन्- महाराजले गरिबक्सेको कामले देशको भलो भएन रे !
महाराजले भनिबक्सेछ- पृथ्वीनारायण शाहको वंशज म ज्ञानेन्द्र शाहलाई सिकाउने, को हुन् ती मान्छे ?
उनले भनेछन्- गिरिजाप्रसाद कोइराला, माधव नेपाल, भरतबिमल यादव, नारायणकाजी श्रेष्ठलगायत ४/५ सय मान्छे बसेका छन् ।
४/५ सय मान्छेले महाराजलाई सिकाउने ?
आज समय बदलिएको छ । पात्रोहरू बदलिएका छन् । कर्णालीमा गएर एउटा डाक्टर अनशन बसेका छन् ।
केही शुभचिन्तकले गएर प्रधानमन्त्रीलाई भनेछन्- डाक्टर केसीले भन्नुभएको छ- यसो गर्यो भने देशको स्वास्थ्य क्षेत्रको भलो हुँदैन ।
प्रधानमन्त्रीले भन्नुभएछ- दुईतिहाइ संख्या र समर्थन भएको प्रधानमन्त्रीलाई एउटा व्यक्तिले सिकाउने ?
सोध्नुभएछ- उनको समर्थनमा को-को छन् ?
सोध्दैगर्दा भनेछन्- केही थान कांग्रेसहरू संसदमा हल्ला गर्दैछन्, केही थान मान्छेहरू माइतीघरमा हल्ला गर्दैछन् ।
केही थान मान्छेको भरमा दुईतिहाइ बहुमतको प्रधानमन्त्रीलाई सिकाउने ? मलाई दु:ख लागेको छ । चिन्ता पनि लागेको छ सभामुख महोदय !
महाराज झुकिबक्सयो ! संख्या हेरेर, टाउको गनेर ।
सत्यको पक्षमा उभिँदैगर्दा फगत एकजना भए पनि पुग्छ ।
आज डाक्टर गोविन्द केसी सत्यको पक्षमा हुनुहुन्छ । मान्छे कतिछन् नहेर्नुस् प्रधानमन्त्रीज्यू । टाउको कतिछन् नगन्नुस् प्रधानमन्त्रीज्यू ।
उहाँलाई चिन्नुस् । उहाँसँग कुनै झण्डा छैन । कुनै लोभ छैन । स्वार्थ छैन । केवल नसा छ- चिकित्सा क्षेत्र सुधारको नसा ।
उहाँको माग सम्बोधन गरौं । नेपाली कांग्रेस सरकारसँग मिलेर उहाँको माग सम्बोधन गर्न तयार छ ।