११ असार २०८३, बिहीबार

क्रूरताले हद नाघ्यो, आफ्नै छोरीलाई जलाएर मारेको अभियोगमा बुवासहित ४ जना पक्राउ

असार २५, २०७५
क्रूरताले हद नाघ्यो, आफ्नै छोरीलाई जलाएर मारेको अभियोगमा बुवासहित ४ जना पक्राउ

बुटवल –आफ्नै छोरीलाई मट्टितेल छर्केर आगो लगाएको अभियोगमा बुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

रूपन्देहीको कञ्चन गाउँपालिका– ५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुवा तेजबहादुर, हजुरआमा हरिकला तथा फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझण्डीले सोमवार पक्राउ गरेको हो ।

समीक्षा घरमै सुतिरहेका बेला उनलाई जिउँदै जलाइएको प्रहरीमा परेको किटानी जाहेरीमा उल्लेख छ । उनको उपचारका क्रममा यही असार २० गते काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो ।

हत्या अभियोगमा नियन्त्रणमा लिइएका चारैजनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ । प्रहरीले हरिकला र तेजबहादुरलाई रुद्रपुरबाट तथा अमृता र मधुलाई बुटवलबाट नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीका लागि इराकमा रहेकी आमा माया थापा नेपाल फर्किएर पतिसहित चारजनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको बताए । ‘घटना शंकास्पद् छ,’ डीएसपी मल्लले भने, ‘हामीले गम्भीर रूपमा अनुसन्धान थालेका छौं । त्यसैका लागि बुवा, हजुरआमासहित ४ जनालाई नियन्त्रणमा लिएका हौं ।’

मावलीमा बस्दै आएकी समीक्षा विगत ६ महिनायता मात्रै बुवासँग आफ्नै घरमा बस्न थालेकी थिइन् । उनी गाउँकै पिसल्याण्ड भूपू सैनिक पब्लिक बोर्डिङमा १० कक्षामा अध्ययनरत थिइन् ।

समीक्षा जन्मिएको ९ महिना हुँदा बुवाले दोस्रो बिहे गरेका थिए । त्यसपछि कुटपिट गर्न थालेपछि समीक्षालाई लिएर आमा माया माइत गएको स्थानीय बताउँछन् ।

शुरुमा सामान्य मुचुल्का उठाएर सुस्ताएको प्रहरी समीक्षाको मृत्यु र किटानी जाहेरीपछि अनुसन्धानमा जुटेको छ ।

अनुहारभन्दा तल र कम्मरभन्दा माथि जलिरहेका बेला उनी चिच्याउँदै धारोमा पुगेपछि छिमेकीले थाहा पाएका थिए ।

त्यसपछि छिमेकीले नै उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल बुटवल पुर्‍याएका थिए । बुटवलमा उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो । उनको स्तनसहित पेट, छाती र पाखुरा जलेका थिए ।

समीक्षा घरमै बस्न थालेपछि अंश दिनुपर्ने डरले परिवारले मिलेर आगो लगाएको आरोप समीक्षाकी आमा र मावली पक्षले लगाएको छ ।

घटना हुनुभन्दा एक महिनाअघि पनि बुवा, हजुरआमा र फुपूहरु मिलेर उनलाई घाइते हुने गरी कुटपिट गरेको उनीहरूले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्