२२ जेठ २०८३, शुक्रबार

छोरीलाई जिउँदै आगो लगाएको आशंकामा  बुबा समातिए

असार २६, २०७५
छोरीलाई जिउँदै आगो लगाएको आशंकामा  बुबा समातिए

बुटवल –आफ्नै छोरीलाई मट्टीतेल छर्केर आगो लगाएको अभियोगमा बाबुसहित चार जना पक्राउ परेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया किशोरी समीक्षा ठकुरीलाई आगो लगाएको आंशकामा उनका बुबा तेजबहादुर, हजुरआमा हरिकला, फुपूहरू मधु र अमृतालाई इलाका प्रहरी कार्यालय सालझन्डी रूपन्देहीले सोमबार पक्राउ गरेको हो ।

समीक्षा आफ्नै घरमा सुतेको अवस्थामा मट्टीतेल छर्केर जलेको अवस्थामा ९ असारमा भेटिएकी थिइन् । गम्भीर घाइते समीक्षाको उपचारका क्रममा २० असारमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले हरिकला र तेजबहादुरलाई रुद्रपुरबाट र अमृता र मधुलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो । इराकमा कार्यरत मृतक समीक्षाकी आमा माया थापाले नेपाल फर्केर प्रहरीमा उजुरी गरेपछि परिवारका सदस्य पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालय, बुटवलबा प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले  घटना शंकास्पद भएको बताए । मावली घरमा बस्दै आएकी समीक्षा विगत ६ महिनायता मात्रै बुबाको घरमा बस्न थालेकी थिइन् । उनी गाउँकै पिसल्यान्ड भूपू सैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै आएकी थिइन् । उनका बुबा गाडी चालक रहेको बताइएको छ ।

समीक्षा जन्मेको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि त्यतिबेलादेखि नै उनी आमासँगै मावलमा बस्दै आएको स्थानीयहरू बताउँछन् । प्रहरीले उजुरी लिन नमानेकै कारण इराकमा रहेकी आमा नेपाल आएर उजुरी दर्ता गराएकी थिइन् । आमाले उजुरी दिएपछि मात्रै प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्