
काठमाडौं– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रमा शुद्धीकरण गरी उपत्यकामा वितरण हुने पानीको गुणस्तर के कस्तो हो भन्ने प्रतिवेदन पेश गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले लिमिटेडलाई निर्देशन दिएको छ ।
मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनीयर अनोज उपाध्यायले यही असार १७ गते लिमिटेडलाई पत्र लेखेर सुन्दरीजल प्रशोधन केन्द्रको अनुगमन गरी सात दिनभित्र वास्तविकताबारे पेश गर्न निर्देशन दिएका थिए ।
मन्त्रालयले तोकेको अवधि पूरा भए पनि लिमिटेडको प्रतिवेदन प्राप्त नभएको सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए ।
मन्त्रालयको पत्र प्राप्त भएपछि लिमिटेडले खानेपानी सञ्चालन महाशाखा प्रमुख सतीशकुमार दत्तको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिले स्थलगत रूपमा सुन्दरीजल गई अध्ययन गरेर प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।
प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेकाले मंगलबार पेश गरिने संयोजक दत्तले बताए । “भूकम्पले क्षति पुगेको प्रशोधन केन्द्र पुनःनिर्माण नभएको र वितरण सञ्जाल पनि पुराना सामग्रीको भएकाले धमिलो पानी आएको पाइयो, प्रशोधन केन्द्रको पुनःनिर्माण र वितरण सञ्जाल परिवर्तन भए समस्या समाधान हुने देखियो, यही प्रतिवेदन मन्त्रालयमा बुझाउँछौँ”, उनले भने ।
सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छव प्रशोधन केन्द्रमध्ये हाल दुई मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चार केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताए ।
धाराको पानी पिउन त के कपडा धुन र नुहाउन समेत नहुने धमिलो खस्न थालेपछि समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको स्थलगत रूपमा अनुगमन गरी लिमिटेड, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र मन्त्रालयमा निवेदन दर्ता गराएको थियो ।
संविधानमा खानेपानीलाई मौलिक हकका रूपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवस्था दयनीय बनी जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले बताए ।
वर्षामा पानी प्रदूषित भई रोगको संक्रमण फैलन सक्ने भएकाले मन्त्रालयलगायत सरोकार भएका निकायलाई जानकारी गराइएको उनको भनाइ छ ।