काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सचिवहरुसँग छलफल गर्ने भएका छन् । उनले सचिवहरुसँग छलफल गर्नकै लागि ७ घण्टा समय छुट्याएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजेपछि हुने छलफलका लागि ओलीले मन्त्रालय र मातहतका निकायको कार्यप्रगति तथा योजनाका सन्दर्भमा २०/२० ब्रिफिङ गर्नेगरी तयारी गर्न सबै सचिवहरुलाई निर्देशन दिएका छन् ।
एक सचिवले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीज्यूले भोलिको लागि ७ घण्टाको समय दिने भन्नु भएको छ । त्यसका लागि २०/२० मिनेटको प्रिजेन्टेसनसहित आउन भन्नुभएको खबर छ । त्यही अनुसारको तयारीमा छौं ।’
प्रधानमन्त्रीले मन्त्रालयको कामकारबाही प्रभावकारी बनाउने उद्देश्यका साथ सचिवहरुसँग छलफल गर्न लागेको बताइएको छ ।
उनले सचिवहरुको ब्रिफिङपछि सरकारको सुशासन र समृद्धिको लक्ष्यअनुरुप कार्यसम्पादन गर्न कडाईका साथ निर्देशन दिने बताइएको छ ।