
काठमाडौं – भारतको दिल्लीमा हौजकाजी क्षेत्रमा विद्यालयको पैसा नतिरेको भन्दै ५९ जना साना बच्चीहरूलाई गर्मीले उकुुसमुकुस पार्ने कोठामा बन्द गरिएको छ ।
दिउँसो अभिभावकहरू बच्चीलाई लिन स्कूल पुग्दा यसको बारेमा थाहा पाए । बच्चीहरू गर्मीका कारण भोकप्यासले बेहाल थिए ।
आफ्ना बच्चीहरूलाई यस्तो हालतमा देख्दा अभिभावक धेरै रिसाए । स्कूलबाहिर धेरै हल्लाखल्ला भयो ।
यो सूचना पाउनेबित्तिकै वरिष्ठ प्रहरी अधिकारीहरू स्कूल पुगे । अभिभावकको उजुरीपछि प्रहरीले बच्चीहरूलाई जबर्जस्ती बन्धक बनाइएकोमा मुद्दा दर्ता गरेको छ ।
राबिया गर्ल्स पब्लिक स्कूलमा यो घटना भएको हो । त्यहाँ १२ कक्षासम्म पढाइ हुन्छ ।
सोमवार बिहान स्कूल खुल्दा नर्सरी र केजी कक्षका छात्राहरूका मातापिता आफ्ना बच्चीलाई छोडेर गए । दिउँसो १२ः३० मा बच्ची लिन जाँदा ५९ चाहिँ क्लासमा थिएनन् ।
कर्मचारीहरूसँग सोध्दा फीस नदिएको कारण स्कूलकी हेडमास्टर फराह दीबा खानले आदेश दिएर बच्चीहरूलाई स्कूलको बेसमेन्टमा राखिएको बताए ।
साँघुरो कोठमा पंखा पनि नभएको अभिभावकहरूले बताए । चार र पाँच वर्षका बच्चीहरू भोक र प्यासबाट पीडित थिए ।
रिसाएका अभिभावकले हेडमास्टरसँग कुरा गर्दा उनले दुर्व्यवहार गर्दै बाहिर जान लगाइन् ।
स्कूल प्रशासनले चाहिँ बच्चीहरूलाई एक्टिभिटी रूममा राखिएको र बच्चीहरूलाई त्यहाँ केही बेर बस्न भनेको बतायो । यसबाहेक स्कूलले टिप्पणी गर्न मानेको छैन र सबै कुरा प्रहरीलाई बताउने भनेको छ ।
एजेन्सी