१२ असार २०८३, शुक्रबार

असार मसान्तमा वीरेन्द्रनगरका लेखापाल बिदामा, सेवाग्राहीलाई समस्या

असार २७, २०७५
असार मसान्तमा वीरेन्द्रनगरका लेखापाल बिदामा, सेवाग्राहीलाई समस्या

सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाका लेखापाल बिदामा बस्दा असार मसान्तमा भुक्तानीका लागि नगरपालिका धाउने सेवाग्राही मर्कामा परेका छन् ।

सेवाग्राहीले ३ दिनदेखि आर्थिक कारोबार सम्वन्धी काम गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ । नगरपालिकाका लेखा शाखा प्रमुख हरि क्षेत्री घरायसी र अत्यावश्यक काममा जाने भन्दै आइतवारदेखि ५ दिनका लागि बिदामा बसेका कारण सेवाग्राहीलाई सास्ती भएको हो । योजनाको भुक्तानी लिन नगरपालिका पुगेका एक उपभोक्ता समितिका अध्यक्षले नाम नलेख्ने शर्तमा भने, ‘असार मसान्तको मुखमा ५ दिन बिदामा बस्नु र कसैलाई अख्तियारी नदिएर जानु गलत हो ।’

‘घर बिदामा किन गए भन्ने मेरो प्रश्न होइन, मेरो प्रश्न अख्तियारी किन दिइएन भन्ने नै हो,’ उनले भने, ‘कर्णालीको राजधानी नगरमा यस्तो हुनु किमार्थ उचित होइन ।’ उनले जुनसुकै बहानामा सेवाग्राहीलाई सास्ती दिनु नाजायज भएको आरोप लगाए ।

सेवाग्राही राजकुमार थापाले नगरपालिकामा अरु सबै काम भएपनि आर्थिक कारोबार भने ठप्प पारिएको बताए । ‘अरु सबै काम भइरहेका छन्,’ उनले भने, ‘लेखा प्रमुखले कसैलाई पनि अख्तियारी नदिएर जाँदा सेवाग्राहीलाई समस्या भएको हो ।’ आइतवारदेखि ५ दिनका लागि बिदामा रहेको लेखा प्रमुख हरि क्षेत्रीले बताए ।

‘मैले सेवाग्राहीलाई कुनै सास्ती नहुने गरी कार्यालय प्रमुखसँग बिदा मागेर गएको हुँ,’ गृहजिल्ला पर्वतमा रहेका प्रमुख क्षेत्रीले लोकान्तरसँग भने, ‘मेरो अत्यावश्यकीय पारिवारिक समस्याका कारण मैले ५ दिन बिदा लिएको हुँ । म आफूले लिएको बिदा अनुसार शुक्रबार कार्यालयमा हाजिर हुनेछु ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खड्काले अन्य कामहरू भइरहेको बताए । ‘मात्र चेक दिने काम रोकिएको छ । अन्य कामहरू फटाफट भइरहेका छन्,’ उनले भने, ‘कसैलाई अप्ठ्यारो नपर्ने गरी उहाँ घर जानुभएको हो र शुक्रबार कार्यालयमा आउनुहुनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्