१४ असार २०८३, आइतबार

सरकारको उदेकलाग्दो गति : जग्गा नापिएको ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपूर्जा !

असार ३०, २०७५
सरकारको उदेकलाग्दो गति : जग्गा नापिएको ५० वर्षपछि बल्ल जग्गाधनी प्रमाणपूर्जा !

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र १७ का १ सय १२ जनाले गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । जग्गा नाप/जाँच भएको झण्डै ५० वर्षपछि बल्ल उनीहरूले जग्गाधनी पूर्जा पाएका हुन् ।

शनिबार मणिग्राममा आयोजित एक कार्यक्रमबीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, प्रदेश सांसद दधिराम न्यौपाने, नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले उनीहरूलाई जग्गाधनी प्रमाणपूर्जा प्रदान गरे ।

नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ (क) को किता नम्बर ८९ र ९८ तथा गंगोलिया ३ (ख) को कित्ता नम्बर १३२ को गाउँब्लक जग्गाको जग्गाधनीलाई प्रमाणपूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय वासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाणपूर्जा प्राप्त गरेका छन् । 

जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको बताए । प्रतिबन्धका कारण धेरै समस्या र विकृति बढेको बताउँदै उनले आवश्यक नीति निर्माण गरेर कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा मन्त्रालय रहेको प्रष्ट पारे ।   

‘जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउँछौं,’ उनले भने, ‘यस सम्बन्धमा मैले प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरेको छु । १ महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं ।’ उनले कृषि भूमिको संरक्षण हुने गरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिएपनि व्यवहारमा नरोकिएको बरु त्यसले अनेक विकृति बढाएकाले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताए । 

स्थानीय तहले भू–उपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले रुपन्देहीमा खेतीयोग्य जमिनको संरक्षण गरिनुपर्ने बताए । भूमि समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताउँदै मन्त्री खनालले यसमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रदेश सांसद दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको बताउँदै यो समस्या समाधानमा संघीय सरकार गम्भीर हुनुपर्ने बताए ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने बताए । भूमि व्यवस्थापनका सन्दर्भमा तिलोत्तमा नगरपालिकाको नेतृत्वले देखाएको तत्परता निकै प्रशंसनीय रहेको बताउँदै उहाँले नेतृत्वको इच्छाशक्तिका कारण आगामी आर्थिक वर्षमा तिलोत्तमामा पुनः नापी हुन थालेको जानकारी दिए । 

तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको बताए । उप–प्रमुख जागेश्वरदेवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारी लगायतले बोलेका थिए ।  

जग्गाधनी पूर्जा पाएपछि खुशी  उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय वासिन्दा अत्यन्त खुशी भएका छन् । तिलोत्तमा–१७ भरौलियाकी ७० वर्षीय मालतीदेवी थरुनीले जीवनको उत्तराद्र्धमा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा आफू निकै खुशी भएको बताइन् । यस्तै तिलोत्तमा–१५ की ६० वर्षीय कोइली चौधरीले  लामो समयको प्रतीक्षापछि बल्ल प्रमाण पूर्जा पाएको बताउँदै अब बल्ल जग्गाको वास्तविक धनी भएको बताइन् । 

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रक्रिया पूरा गरेर क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिए  ।

जनप्रतिनिधिको तत्परताका कारण पछिल्लो पटक तिलोत्तमाबाट गाउँब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण शुरू गरिएको उनले बताए । तिलोत्तमाका अन्य वडाहरुमा समेत गाउँब्लक जग्गा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्