
काठमाडौं– रुसमा जारी विश्वकप फुटलअन्तर्गत शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा नेपाली समय अनुसार अहिले पौने ८ बजे बाट सुरु भएको छ।
समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो । फुटबल इतिहासमा यी दुई टोलीबीचको खेल हेर्ने हो भने इंग्ल्याण्ड बेल्जियम विरुद्ध हावी हुँदै आएको छ ।
जारी विश्वकपको समूह चरणमा इंग्ल्याण्ड विरुद्ध बेल्जियमले निकालेको जित ८२ वर्षपछिको पहिलो जित थियो । बेल्जियमले यसअघि सन् १९३६ मा भएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डलाई ३–२ ले पराजित गरेको थियो।
२८ वर्षपछि विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको इंग्ल्याण्डको ५२ वर्षपछि फाइनल यात्रा तय गर्ने सपना क्रोएसियाले चकनाचुर पारेको थियो । क्रोएसिया विरुद्धको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि क्रोएसियाको उत्कृष्ट पुनरागमनमा इंग्ल्याण्ड २–१ को नमिठो हार व्यहोर्न बाध्य भएको थियो ।
यता सन् १९८६ मा पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको बेल्जियमको पहिलो पटक फाइनल पुग्ने सपना फ्रान्ससँगको पराजयसँगै सकिएपछि बेल्जियम पनि विश्वकप फुटबल प्रतियोगिताको इतिहासमै पहिलो पटक तेस्रो स्थान हासिल गर्ने दाउमा हुनेछ ।
शनिवारको खेलमा इंग्ल्याण्डको युवा टोली विरुद्ध खेल्दा बेल्जियम समूह चरण अन्तर्गतकै नतिजा पुनः दोहो¥याउदै पहिलो पटक तस्रो स्थानको स्वाद चाख्न चाहन्छ ।