१७ असार २०८३, बुधबार

नुवाकोटमा पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

असार ३०, २०७५
नुवाकोटमा पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

नुवाकोट– तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले आज तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । 

बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सामाजिक परिचालक धुव्र तामाङले जानकारी दिए । 

अबिरल आएको वर्षाको कारण ठूलोखोला र हिमचुली खोलामा आएको बाढीले कटान गरी बस्तीमा पहिरो बगेपछि वीरबहादुर तामाङ, राजकुमार तामाङ र श्यामबहादुर भुलेलको घर पुरिएको हो । खोलामा बाढीको सतह बढेपछि घर छोडेर उनीहरु सुरक्षित स्थानतर्फ लागेको समयमा आएको पहिरोले घर पुरेर त्यहाँ रहेका अन्नबाली, लत्तकपडा भाडावर्तन सबै क्षति भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । 

उनका  अनुसार पहिरोले घर पुरिँदा भुजेलले सञ्चालन गर्दै आएको किराना पसलमा रहेका रु १५ लाखभन्दा बढीको सामग्री क्षति पुगेको छ भने पुरिएको घरको क्षतिको लगत निकाल्न बाँकी छ । 

पहिरोले डाढे र काल्चेका ३४ घरधुरी परिवार उच्च जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्न लागिएको गाउँपालिकाको उपाध्यक्ष इश्वरी उप्रेतीले जानकारी दिइन् । 

उक्त स्थानलाई २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको कारण जोखिममा रहेको बस्तीको रुपमा भूगर्भविद्ले पहिचान गरेका थिए । ती बस्तीलाई सरकारी तवरबाट समयमा नै स्थानान्तरण गर्न सहयोग नगर्दा बर्षायाममा बासस्थानविहीन हुनुपरेको पीडित राजकुमार तामाङले गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्