
काठमाडौं – काठमाडौंका विभिन्न सडकमा जथाभावी बाटो काट्ने पैदल यात्रुलाई मध्यनजर गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब सडकमै क्लास चलाउने भएको छ ।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा पैदलयात्रीले जथाभावी बाटो काट्न थालेपछि ट्राफिक प्रहरीले यस्तो अभियान शुरु गरेको हो ।
प्रहरीले आइतवार बिहान ९ बजेदेखि राजधानीका सडकमा क्लास सञ्चालन गरेको छ ।
जथाभावी सडक काट्ने यात्रुलाई सडक छेउमा रोकेर प्रशिक्षण दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रहरीले उपत्यकाका १० स्थानमा क्लास सञ्चालन गर्नेछ । क्लास सञ्चालन हुने सबै ठाउँमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ट्राफिक प्रहरीको टोली खटिने छ ।
सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई ठिमीमा इन्सपेक्टर जगत नेपाली, कोटेश्वरमा कृष्णराज सापकोटा, नयाँ बानेश्वरमा मनोजकुमार शाही, थापाथलीमा सरोज प्रजापति, त्रिपुरेश्वरमा इन्द्रजित इटनी, पुरानो बसपार्कमा काबुकाजी गिरी, केशरमहलमा गोकर्ण नेपाल, सिंहदरबारमा बेनप्रसाद श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
यस्तै गौशालामा धर्मेन्द्र रावल, महाराजगञ्जमा राजनकुमार न्यौपाने, कालिमाटीमा प्रतितसिंह राठौर र जावलाखेलमा सीताराम हाछेथुले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई प्रशिक्षण दिइरहेका छन् ।
ट्राफिक प्रहरीले राजधानीको न्यूरोड, माथिल्लो र तल्लो नागस्थान, वीर अस्पताल गेट, भोटाहिटी, जमल, रणोद्विप, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्क क्षेत्रमा आकाशे पुलको प्रयोगका लागि अभियान सञ्चालन गर्नेछ ।
आकाशे पुल र जेब्राक्रस भएका क्षेत्रमा सडकबाट बाटो काट्ने यात्रुलाई सडकमै रोकाएर प्रशिक्षण दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार पन्तले जानकारी दिए ।