३० असार २०८३, मंगलबार

चलचित्र विकास बोर्डमा अध्यक्षको खोजी : निकितालाई हटाइएको कुर्सीमा को बस्ला ?

चलचित्र विकास बोर्डमा अध्यक्षको खोजी : निकितालाई हटाइएको कुर्सीमा को बस्ला ?

काठमाडौं : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका नियुक्ति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले खारेज गरिदिएपछि यतिबेला चलचित्र विकास बोर्डको अध्यक्ष पद खाली छ । 
निकिता पौडेलले कुर्सी छोडेस“गै अब उक्त कुर्सीमा को बस्छ भन्ने बहस चलेको छ ।

तर अहिले यसै भन्न सकिने अवस्था छैन । यद्यपि नेपाली चलचित्र बजारमा भने केही व्यक्तिको नाम चर्चामा छ । आकांक्षीहरू अध्यक्ष बन्नका लागि दिनरात मेहेनत र दौडधुप गरिरहेको फिल्मी क्षेत्रमा चर्चा चलिरहेको छ । 

आधादर्जन आकांक्षी

अध्यक्षका लागि लबिङ गर्नेको संख्या आधा दर्जन रहेको छ । यद्यपि खुलेरै भने कोही लागिसकेका छैनन् । केशव भट्टराई, शिव श्रेष्ठ र दयाराम दाहाल अध्यक्ष पदका आकांक्षीको अग्रस्थानमा छन् । 

जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष भट्टराईले संस्थागत रूपमै अध्यक्षका लागि सिफारिस लिएका छन् । संघले औपचारिक रूपमा उनलाई अध्यक्षका लागि प्रस्ताव गरिसकेको छ । गत वर्षको फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै शिव श्रेष्ठ पुष्पगुच्छा बोकेर बालकोट पुगेका थिए । 

त्यसो त निर्देशक तथा कान्तिपुर रेडियोका स्टेशन म्यानेजर दिनेश डिसीको नाम पनि चर्चामा छ । तत्कालीन नेकपा एमालेसँग उनको राम्रै उठबस भएकाले पनि डिसी सरप्राइज पात्रका रूपमा अध्यक्ष हुनसक्ने विश्लेषण कतिपयले गरेका छन् । डिसी राजेश हमालसंगै प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको टोलीमा अटाएका थिए । तर डिसीले केही दिन अघि मात्रै आफू अध्यक्ष हुने÷नहुने भन्ने कुराको निर्णय लिइनसकेको बताएका छन् । 
अभिनेता विल्सनविक्रम राई पनि अध्यक्ष पद पाउने आशामा पार्टी निकटका साथीभाइलाई फकाउन थालेका छन् । 

निर्देशक तथा निर्माता आकाश अधिकारी पनि मौकामा चौका हान्न खोजिरहेका छन् । निर्माता संघको अध्यक्षका रूपमा रहेका उनले अप्रत्यक्ष रूपमा लबिङ गरिरहेको बताइन्छ । तर केशव भट्टराई यो दौडमा सबैभन्दा अगाडि छन् ।

अभिनेता शिव श्रेष्ठले प्रधानमन्त्री केपी ओलीसमक्ष निरन्तर भेटघाट गरेर आफूलाई अध्यक्ष बनाइदिन अनुरोध गरिरहेको स्रोत बताउ“छ । उनले ओली निकटका व्यक्तिहरूलाई समेत दिनरात भेट्ने गरेका छन् ।
स्रोतका अनुसार शिव श्रेष्ठलाई केपी ओलीले अन्य प्रत्याशीलाई भन्दा बढी महत्वका साथ हेरेका छन् । स्रोतका अनुसार शिव बोर्ड सम्हाल्न पुगे भने अचम्म नमान्दा हुन्छ ।

अध्यक्षको दौडमा रहेका अर्का प्रत्याशी दयाराम दाहाल सञ्चारमन्त्री गोकुल बास्कोटानिकट मानिन्छन् । उनी अघिल्लो पटक पनि अध्यक्षको दौडमा थिए । बास्कोटा र दाहालको घर एकै क्षेत्रमा पर्ने र पहिलेदेखि राम्रो सम्बन्ध भएकाले बास्कोटाले दाहाललाई अध्यक्ष बनाउन सक्ने पनि कतिपयको विश्लेषण छ ।

जसले धेरै बुझायो, उही अध्यक्ष !

निवर्तमान अध्यक्ष निकिता पौडेलले झण्डै १ करोड रकम बुझाएर विकास बोर्डको अध्यक्ष पद सम्हालेको खबरले चलचित्र क्षेत्रभित्र खैलाबैला मच्चिएको थियो । उनले ८० लाख रकम ऋण खोजेरै बुझाएको समेत स्रोत बताउ“छ । नेपालकी एक चर्चित अभिनेत्री भन्छिन्, ‘निकिताले राम्रै पैसा बुझाएकी हुन्, त्यतिका रकम बुझाउन मन नलागेरै म व्याक भएकी थिएँ ।’ उनका अनुसार निकिताले सवा करोड रकम बुझाएकी थिइन् । 

‘अध्यक्ष बन्न चाहनेहरूमध्ये जसले धेरै रकम बुझाउँछन्, ति नै बोर्डको अध्यक्ष हुने परम्परा रहेको छ,’ एक कलाकारले भने, ‘जसले दाम धेरै बुझाउँछ, उही बन्छ ।’

उनका अनुसार विकास बोर्डको अध्यक्ष बन्न र सभासद् हुन लगभगउस्तै परिस्थिति बनेको छ । पैसा खर्च गर्न नसक्नेले बोर्डको अध्यक्ष हुने विषय सोच्न पनि नसक्ने अवस्था बनेको उनको भनाइ छ । 

यसपटक अध्यक्ष बन्न खोजिरहेकाहरू पैसा बुझाउन गोप्य माध्यम खोजिरहेको स्रोत बताउ“छ । राजकुमार राईले पनि लाखौं रकम बुझाएर अध्यक्ष बनेको चर्चा थियो ।

यद्यपि चर्चा र मिडियामा आएका गसिपलाई पुष्टि गर्ने आधार भने भेटिँदैन ।
 

salt training

कमेन्ट गर्नुहोस्