
विराटनगर– पछिल्लाे समय विराटनगरमा हाट बजार व्यवस्थापनको बिषयले सबैको ध्यान तानेको छ । सामान खरिदका लागि जाने उपभोक्ता मात्र हैन व्यापरी पनि यो बिषयले अन्यौलमा छन् । महानगरपालिकाका वडा अध्यक्षहरुलाई पनि हाटिया कसरी व्यवस्थीत बनाउने भन्ने बिषयले पिराेलेकाे छ ।
विराटनगरका सडकमा लाग्दै आएको साप्ताहिक हाटबजारलाई व्यवस्थित वनाउने अभियान कतिपय वडाहरुबाट शुरु भइसकेको छ । बिराटनगर महानगरपालिका वडानम्बर ४ कञ्चनवारी, पश्चिम नोवेल हस्पिटल जाने सडकको हाटबजार ब्यवस्थीत गर्ने काम शुरु भएको छ । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गा सम्याउने काम आइतवारदेखि शुरु गरिएको हो ।
व्यवस्थित बजारका लागि सडकको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई ३ भागमा विभाजन गर्ने र प्रत्येक व्यपारिलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए । सडकमा अवरोध पुग्ने गरी अव कसैले पनि हटिया लाउन नपाउने उनको भनाइ छ ।
सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिइसकेका छन् ।
प्रत्येक वडाका विभिन्न स्थानमा लाग्ने हटियाहरु सडकमै लाग्ने गरेका थिए । अव भने सडकभन्दा बाहिरको खाली जग्गाको पहिचान गर्दै उपयुक्त स्थानमा हटिया लाउने अभियान शुरु भएको हो । यसमा वडा अध्यक्षहरु पनि सक्रिय भएर लागेका छन् ।
त्यस्तै वडा नम्बर ११ ले पनि हटिया ब्यवस्थापन गर्ने बारेमा ठाउँको पहिचान गरि रहेको जनाएको छ । हाट बजार ब्यवस्थित गर्ने महानगरको योजना अनुसार वडाका बिभिन्न स्थानहरुको पहिचान गर्दै कसरी आम नागरिकलाई पनि असहज नहुने अनी सडकमा पनि हटिया लाग्न नपाउने गरी काम गर्ने भन्ने बारेमा काम भइरहेको वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले बताए ।
वडा नम्बर ११ मा पनि साना सडकमा पसलहरु लाग्ने गरेको भएपनि हटियाकै रुपमा नलागेको उनले सुनाए । त्यसलाई साईड लगाउने काम हुँदैछ, तर हटिया लाग्ने वडाहरुले पनि धमाधम पहिचान गरेर काम गर्दै गरेको उनले जानकारी दिए ।