१९ असार २०८३, शुक्रबार

बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल जोड्ने पदमार्ग निर्माण

बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल आँपरुख जोड्ने पदमार्ग निर्माण भएको छ । 

बेनी नगरपालिका र पर्यटन विभागको सहयोगमा स्थानीयवासीको अगुवाइमा पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले एक किलोमिटरभन्दा बढी लामो पदमार्ग निर्माण भएको हो । 

पर्यटन विभागको रु २८ लाख ५० हजार सहयोगमा ८०० मिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो । यसै वर्ष बेनी नगरपालिकाको रु चार लाख सहयोगमा थप ११८ मिटर पदमार्ग निर्माण भएको छ । 
    
गत वर्ष नगरपालिकामार्फत ७५ मिटर पदमार्ग निर्माण भएको थियो । अर्थुङ्गे, पछै, जगन्नाथ, टोड्के मालिका धुरीदेखि बिम मराङ हँुदै धौलागिरि हिमालको आधार शिविरसम्म जोड्ने वैकल्पिक पदमार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताउनुभयो । 

बेनीदेखि अर्थुङ्गे जोड्ने भिरालो पाखोमा अवस्थित उकालो बाटोमा पक्की सिँढी निर्माण भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । यसअघि चिप्लो बाटोमा लडेर दुर्घटना हुने जोखिम थियो । 

बेनी नगरपालिकाले गौरवको आयोजनाको रुपमा आँपरुख, पुलाश्रम र पछैमा रामायण उद्यान निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । 

डिपिआरले पूर्णता पाएपछि रामायण उद्यानको काम शुरु गर्न आगामी आवमा रु ४२ लाख बजेटसमेत विनियोजन भएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्