काभ्रे, ४ फागुन - नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दिएको दुईदिने तालिम आज सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको सहयोगमा सञ्चालित सो तालिममा २० जना सहभागी थिए । प्रशिक्षार्थीलाई प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रमाणपत्र वितरणका क्रममा उहाँले समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेकाले प्रशिक्षार्थीले आगामी दिनमा समाजका लागि उल्लेखनीय कार्य गर्ने आशा व्यक्त गर्नुभयो ।
सो क्रममा पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष नारायण सापकोटाले महासङ्घले पत्रकार महिलालाई अगाडि ल्याउन नै यो तालिम दिइएको बताउनु भयो ।
सोही अवसरमा महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता गर्न समर्पण, प्रतिबद्धता र चाहना हुनुपर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष तथा तालिम संयोजक रमा दाहालले पत्रकार महिलालाई कार्यक्षेत्रमा ल्याउन तालिमको आयोजना गर्नुपरेको बताउनुभयो । रासस