
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमा पढ्न चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) महाराजगन्जले प्रवेश परीक्षा लिन्छ । विद्यार्थी नेपाली होस् कि विदेशी, आइओएमको प्रवेश परीक्षा पास गर्नुपर्छ र न्यूनतम ५० प्रतिशत अंक ल्याउनुपर्छ ।
तर, उत्कृष्ट अंकका आधारमा नेपाली र विदेशी विद्यार्थीको छुट्टाछुट्टै सूची बनाइन्छ । विदेशी विद्यार्थीका लागि २५ प्रतिशत सिट छुट्याइएको छ । यसपालि तीन सय विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिए, २५ जना मात्रै पास भए ।
तीमध्ये १० जना आइओएममा भर्ना भएका छन् । १२ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा र बाँकी तीनजना नेसनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका छन् ।
नेसनल मेडिकल कलेजले पाएको जम्मा ९० सिटमध्ये ४५ जना नेपाली विद्यार्थी भर्ना भएका छन् । तीनजना विदेशी विद्यार्थीसहित उसले जम्मा ४८ जना विद्यार्थी भर्ना गर्यो, बाँकी ४२ सिटमा विद्यार्थी पाउन सकेन ।
त्यसपछि भारतीय पत्रिकामा विज्ञापन गरेर उतैबाट विद्यार्थी ओसार्यो । तर, ४२ विद्यार्थीले प्रवेश परीक्षासमेत पास गरेका छैनन् । नियमविपरीत भएको यो कदम रोक्न हामीले पहल सुरु गरेका थियौँ, तर जिल्ला अदालत पर्साबाट अन्तरिम आदेश लिएर विद्यार्थी भर्ना गरिएको छ ।
यस्तो प्रवृत्तिले स्वास्थ्य शिक्षाको अवस्था के होला ?, नयाँ पत्रिकामा खबर छ ।