
जुम्ला– जुम्लामा आमरण अनसन बसिरहेका डा. गोविन्द केसीले काठमाडौं जान अस्विकार गरेका छन् । उनले आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाएका छन् ।
जुम्लाको कर्णाली विज्ञान स्वास्थ्य प्रतिस्ठानमा २० दिन देखि अनशन बसिरहेका डा. केसीले पत्रकारहरुसँग कुरा गर्दै आफ्नो अभियान तुहाउनका लागि सरकारले गुण्डागर्दी सैलीमा आफूलाई अपहरण गरेर काठमाडौं लान खोजेको आरोप लगाए ।
‘मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैलाई छैन, गुन्डागर्दी चल्दैन’ डा. केसीले भने,‘ सरकार माफिया डन र अधिनायकवाद पोस्नतर्फ लागेको छ माफिया र डनहरुको हार हुन्छ जनताको जीत हुन्छ ।’
उनले आफ्नो स्वास्थ्यप्रति सरकार संवेदनशील भए आफ्ना सबै माग पूरा गर्न सरकारलाई माग गरे । ‘मेरो स्वास्थ्य प्रति सरकार धेरै चिन्तित, संवेदनशील छ भने मेरो माग पूरा गर्न लाग्नु पर्यो’ डा. केसीले भने,‘सबै माग पूरा गर्नुपर्छ त्यसपछि त म अनशन तोडिहाल्छु नि !’
जुम्ला चन्दननाथ बाबाको पवित्र तिस्र्थस्थल भएको भन्दै अनशनलाई जारी राख्ने डा. केसीको भनाइ थियो ।
आफ्नो उपचारमा संलग्न चिकित्सक र नर्सले राम्रो उपचार दिएकोमा सन्तुष्ट रहेको डा. केसीले बताए ।
यसअघि सरकारले डा. केसीलाई काठमाडौं ल्यान भन्दै हेलिकप्टर पठाएको थियो ।