१० असार २०८३, बुधबार

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुने

डा. गोविन्द केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुने

काठमाडौं – जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

सेनाको हेलिकप्टरले जुम्लाबाट सुर्खेत हुँदै उनलाई काठमाडौं ल्याएको हो । सैनिक मञ्च टुँडिखेलमा हेलिकेप्टर अवतरणपछि एम्बुलेन्समार्फत् केसीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिने छ । अनशनका क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि केसीलाई सरकारको पहलमा काठमाडौं ल्याइएको हो ।

केसी विगत २० दिनदेखि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन गरिरहेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई सुर्खेतमा छोडेर नेपाली सेनाको हेलिकप्टर काठमाडौं आएको हो ।

सरकारले अपहरण गरेर काठमाडौं लान खोजेको भन्दै डा. केसीले बिहीवार बिहान आपत्ति जनाएपनि जुम्लाको सुरक्षा माहौल बिग्रिएपछि केसी काठमाडौं आउन राजी भएका थिए । जुम्लामा प्रहरीले बल प्रयोग गर्दा २० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । सर्वसाधारणसँगको झडपमा घाइते प्रहरी जवान कमल आचार्यको अवस्था गम्भीर रहेको जनाइएको छ ।

सरकारले ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथेमा आयोगले दिएको सुझावको आधारमा हुनुपर्ने माग राख्दै डा. केसी २० दिनदेखि अनशनमा छन् । *

salt training

कमेन्ट गर्नुहोस्