
काठमाडौं – नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजले शुक्रबार बिहान भेट गरेकी छन् ।
आफ्नो कार्यकाल सकिनैलाग्दा टेप्लिजले अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिदाइ भेट गरेकी हुन् । अध्यक्ष प्रचण्डले राजदूत टेप्लिजलाई भने, ‘तपाईको कार्यकाल सफल भएको छ ।
नेपालको विकास र प्रगतिमा तपाईले खेलेको भूमिका सकारात्मक रह्यो ।’ अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र समग्र राजनीतिक स्थायित्वमा अमेरिकी सरकारको सहयोग र सद्भाव रहेको बताए ।
उनले नेपालको आर्थिक समृद्धिमा अमेरिकी सरकार र जनताको आगामी दिनमा पनि सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे । नेपालको शान्ति प्रक्रिया विश्वका लागि मोडल भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।
राजदूत टेप्लिजले नेपालको शान्ति प्रक्रिया लगायतका ठूल्ठूला चुनौतिहरूमा नेतृत्वदायी भूमिका खेलेका अध्यक्ष प्रचण्डको प्रशंसा गरिन् । उनले नेपाल सुन्दर भएको बताउँदै राजनीतिक स्थिरतापछि देश आर्थिक समृद्धिमा जाने आधार तयार भएको उल्लेख गरिन् ।