
विराटनगर–१८ वर्ष भन्दा पनि लामो समयदेखि रिक्सा चलाउँदै आएका ५४ वर्षीय रामेश्वर चौधरी रिक्सा चलाउनै नसकेर लखतरान देखिन्थे । उनी विराटनगरको सन्सारीमाईइस्थान चौतारीको छहारी बसेर गर्मी छल्दै थिए । विराटनगर ८ मा रहेको इश्वर बचत तथा ऋण सहकारीका बजार व्यवस्थापक लक्ष्मण चौलागाई पनि त्यही छहारी मुनी भेटिए ।
‘हैट यस्तो पनि गर्मी हुन्छ?’उनले भने ‘अबको दुई दिन सम्म यस्तै गर्मी भयो भने मान्छे वेहोस भएर मर्न वेर छैन ।’ उनी भन्दै थिए, ‘यस्तो गर्मी त मैले थाहा पाए सम्म आज नै हो यति धेरै गर्मी महशुस गरेको ।’ मोटरसाईकलमा हिँड्दा पनि रोडको तातोले खुट्टा पोलेर हिँड्नै नसक्ने अबस्था आइएको उनले बताए । विराटनगरमा २ दिनदेखि अत्याधिक चर्को घाम लागेका कारण सर्वसाधारणको दैनिकी असहज बन्दै गएको छ । चर्को घामसँगै बहने तातो हावाका कारण झनै समस्या हुने गरेको रिक्साचालक रामेश्वरले बताए ।
अत्याधिक तातोका कारण मजदुरी गर्नेहरुलाई समस्या भएको छ । २ दिन यता अत्याधिक गर्मी बढेका कारण दिउँसो र रातको समयमा सुत्न झनै असहज हुने गरेको सर्बसाधारण बताउँछन् ।
विराटनगरमा हिजो ३७ डिग्री सेलसियस तापक्रम रहेको थियो आज ३८ डिग्रीसम्म तापक्रम पुगेको अनुमान गरिएको छ । विहान ५ बजे नै झुल्कने घामले गर्दा मध्यान्न सम्म आईपुग्दा झनै तापक्रम बढेको थियो । अत्याधिक चर्को घामका कारण विशेष गरी रिक्सा चलाएर मजदुरी र दैनिकी चलाउनेहरुलाई समस्या भएको छ ।अत्याधिक गर्मीका कारण स्कुले बालबालिकालाई पनि समस्या परेको छ । टिनको छाना मुनी बसेर पढ्ने विद्यार्थीहरु पनि समस्यामा परेको स्कुलहरुले जनाएको छन् ।
बढ्दो गर्मीकै कारण विभिन्न रोगको संक्रमण बढ्ने सम्भावाना त्यतिकै मात्रमा रहेको छ । । गर्मी अत्यधिक बढेपछि बजारमा चहलपहल पनि निकै घटेको छ । गर्मीका कारण अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कने गरेका छैनन् । बजार तथा चोकमा दिउँसो चहलपहल घटेको छ । गर्मीले विशेष गरी मजदुरी गरी खाने वर्ग बढी समस्यामा परेको छ । साना बालबालिका तथा वृद्धवृद्धालाई गर्मीबाट प्रभाबित भएका छन् ।