
काठमाडौं –पदभार सम्हालेपछि अन्य मन्त्रीभन्दा अगाडि नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर चर्चामा आएका कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङ आफ्नै विवादास्पद अभिव्यक्तिका कारण सिंहदरवारबाट बाहिरिने भएका छन् ।
मन्त्री बनेलगत्तै उनी सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई समेत सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानून बनाउने बताएर चर्चामा आएका थिए । पारदर्शिता, भ्रष्टाचारमुक्त समाज बनाई सुशासन कायम गर्न न्यायालय स्वच्छ बन्नुपर्ने उनको धारणा छ ।
‘अनुसन्धान गर्ने निकायले भ्रष्टाचारको मुद्दा अदालतमा लगे पनि अदालतबाट उन्मुक्ति पाएर फूलमाला लाएर निस्किन्छ,’ मन्त्री बनेलगत्तै लोकान्तरसंगको अन्तवार्तामा तामाङले भनेका थिए, ‘पछिल्लो समय भएका केही फैसलाका कारण न्यायालयप्रति जनगुनासो र प्रश्न उठेको छ ।’
मन्त्री तामाङले सर्वोच्च अदालतमा दाताले दिँदै आएको रकम रोक्न पहल गरेका थिए । यस्तै उनले कानून निर्माण गर्ने थलो संसदमा पनि विदेशी सहयोग नलिने बताएका थिए ।
‘न्यायाधीशमात्र होइन प्रधानमन्त्रीदेखि वडा अध्यक्षसम्म र खरदारदेखि मुख्यसचिवसम्मले सम्पत्ति विवरण बुझाउने मात्र होइन सार्वजनिक गर्नुपर्छ,’ मन्त्री तामाङको भनाइ छ ।
मन्त्री तामाङले जमिन बाँझो राख्न नहुने भन्दै पुल्चोकस्थित मन्त्री क्वाटरमा आफैंले ट्याक्टर चलाएर बारी जोत्दै तरकारी खेती गरेका थिए ।
तर शनिवार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण तामाङ मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्थामा पुगेकाछन् । बंगलादेशमा एमबीबीएस अध्यनरत छात्राहरूको विषयमा दिएको अभिव्यक्तिका कारण केही दिनयता उनको चर्को आलोचना भइरहेको छ ।
मन्त्रीको सो अभिव्यक्तिलाई लिएर चर्को आलोचना भएपछि नेकपाले उनलाई राजीनामा गर्न निर्देशन दिएको थियो । ‘मैले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा दिन लागेको हुँ,’ मन्त्री तामाङले लोकान्तरसँग भने, ‘प्रतिष्ठाभन्दा ठूलो पद होइन ।’ उनले पार्टीको निर्देशन या दबाबभन्दा पनि स्वेच्छाले राजीनामा दिन लागेको बताए ।
२०७४ चैत्र २ गते मन्त्रीको शपथ खाएका तामाङले १३१ दिनपछि राजीनामा दिने तयारी गरेका छन् । तामाङ राप्रपाका नेता पशुपति शम्शेर राणालाई पराजित गर्दै सिन्धुपाल्चोकबाट लगातार दुईपटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । विद्यावारीधी गर्दै गरेका मन्त्री तामाङ अधिवक्ता पनि हुन् ।