
काठमाडौं – जापानको मौसम विभागले देशमा फैलिरहेको तातो हावा लूलाई राष्ट्रिय प्रकोप घोषणा गरेको छ ।
लूका कारण विगत दुई हप्तामा ६५ जनाको मृत्यु भइसकेको छ ।
विभागका प्रवक्ताले केही ठाउँमा तातोको अभूतपूर्व स्तर देखिएको चेतावनी दिए ।
बाईस हजारभन्दा बढी मानिसलाई अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये आधीजसो ज्येष्ठ नागरिक छन् ।
मौसम भविष्यवाणीकर्ताहरूले लू घट्ने कुनै लक्षण नदेखिएको बताएका छन् ।
सोमवार कुमागाया शहरमा ४१.१ सेल्सियस तापक्रम थियो जुन जापानकै इतिहासमा सबभन्दा चर्को तापमान हो ।
टोक्योमा पनि तापक्रम ४० सेल्सियसभन्दा माथि पुग्यो ।
अगस्ट महिनाको शुरूसम्म तापकमा ३५ डिग्रीभन्दा नघट्ने मौसम विभागले जनाएको छ ।
सर्वसाधारणलाई टन्नै पानी पिउन, एयर कन्डिसनिङ प्रयोग गर्न र प्रशस्त आराम गर्न सल्लाह दिइएको छ ।
केही शहरमा मानिसहरू उचिमिजु नामक जल समारोहमा भाग लिइरहेका छन् । उनीहरू ताता सडकपेटीमा चिसो पानी खन्याउने वा छर्किने गर्दै चिस्याउने प्रयास गरिरहेका हुन् ।
पश्चिमी जापानमा ठूलो बाढी र पहिरो ल्याउने गरी परेको मुसलधारे पानीपछि लगत्तै लू चल्न थालेको हो ।
बीबीसीबाट