
काठमाडौं – चीनको गुइयाङ प्रान्तमा एक कार्यालय भवनमा विशाल झरना बनाइएको छ ।
यो कृत्रिम झरना १०८ मिटर अग्लो छ र पानी भवनको भुइँमा रहेको एउटा ट्यांकमा झर्छ ।
यो भवनको नाम लीबियन हो र यसको असाधारण बनोटले धेरैको ध्यान खिचेको छ ।
भवनलाई गुइझु लुडिया प्रोपर्टी म्यानेजमेन्ट कम्पनीले व्यवस्थापन गर्छ । कम्पनीका प्रवक्ता चेङले झरनाको धेरैजसो पानी रिसाइकल गरिएको धाराको पानी वा बर्खाको पानीबाट आउने बताए ।
उनले भने, ‘हाम्रो भवनमा चारतल्ले भूमिगत जल भण्डारण र निकास प्रणाली छ जसबाट पानी पम्प र रिसाइकल गरिन्छ ।’
यो झरनामा पानी चलाउनका लागि एक घन्टामा ८०० युआनको बिजुली खर्च लाग्ने उनले बताए ।
‘त्यसैले हामी झरना दिनदिनै चलाउँदैनौं, विशेष अवसरमा मात्र चलाउँछौं,’ उनले बताए । यो चलाउँदा पनि एकचोटिमा १० देखि २० मिनेट मात्र चलाइनेछ ।
एजेन्सी