
काठमाडौं– चिकित्सा शिक्षा सुधारको मागसहित १५ पटक आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच मंगलवार साँझ भएको वार्ता ‘सकरात्मक विन्दु’मा पुगेर टुंगिएको छ । यद्यपि मंगलवारको वार्तामा दुवै पक्षबीच कुनै सहमति भने जुट्न सकेन ।
डा. केसीका तर्फबाट वार्तामा सहभागी ओम प्रकाश अर्यालले वाता एकदमै सकरात्मक भएको बताए । केही विषयमा सहमति नजिक पुगेपनि त्यसलाई लिखित रुप दिन समय लाग्ने उनको भनाइ छ ।
अर्यालले अर्को वार्तामा सहमति जुट्न सक्ने संभावना रहेको समेत बताए । ‘कतिपय कुराहरुमा मोटामोटी सहमति भएको छ । कतिपय कुराहरुमा डा. केसीसँग पनि हामीले सोध्नुपर्ने हुन्छ,’ अर्यालले भने, ‘सरकारी वार्ता टोलीले पनि राजनीतिक नेतृत्वसँग केही सोध्नुपर्ने हुन सक्छ । अझै धेरै वर्कआउट गरेर निष्कर्शमा पुग्न सकिन्छ ।’
सरकारी वार्ता टोली र केसी तर्फको बार्ता टोलीबीच बुधवार (साउन ९ गते) विहान पुनः छलफल गर्ने सहमति भएको छ ।
सरकारका तर्फबाट वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका संयोजक खगराज बरालले दुवै पक्षबीचको वार्ता सकरात्मक रुपमा अगाडि बढेको बताए । उनले भोलि (बुधवार) विहान बस्ने वार्तामा सहमति जुट्ने विश्वास समेत व्यक्त गरे ।
‘वार्ता अगाडि बढेर सकरात्मक छलफल भएको छ । भोलिसम्म सहमति हुन्छ,’ सरकारका तर्फबाट वार्ता टोलीका संयोजक बरालले भने, ‘छलफलकै माध्यमबाट केसीले उठाएका मागका विषयमा निचोडमा पुग्न सकिन्छ ।’