२७ असार २०८३, शनिबार

मुख्यमन्त्रीका गफ मात्रै : रोजगारीका लागि युवाहरू धमाधम भारततिर

साउन ९, २०७५
मुख्यमन्त्रीका गफ मात्रै : रोजगारीका लागि युवाहरू धमाधम भारततिर

धनगढी – ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री भएलगत्तै सार्वजनिक घोषणा नै गरे – अब रोजगारीका लागि भारत जानु पर्दैन । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिन्छ ।

तर, धान रोपाइँ सकिएलगत्तै युवाहरू विगतका वर्षझै कामको खोजीमा भारत पस्न थालेका छन् । प्रायः खेतीपातीमा आवद्ध ग्रामीण भेगका युवा भारतका विभिन्न स्थानमा ज्याला मजदुरी, चौकीदारी, स्याउ टिप्ने लगायत छोटो अवधिका काममा जाने क्रम ह्वात्तै बढेको हो । बेरोजगारी बढी भएका कारण वैदेशिक रोजगारीमा जाने युवाको संख्या समेत धेरै रहेको छ । 

कैलालीको कैलारी गाउँपालिका–१ मंझराका स्थानीय सन्तराम चौधरीको नेतृत्वमा हालै २५ जना युवा भारतको हिमाञ्चल प्रदेशको सिमला पुगेका छन् । धान रोपाइँपछि बेरोजगार बनेको बताउँदै उनीहरू स्याउ टिप्ने कामको लागि भारत पसेको जानकारी दिए ।

ज्यालादारीमा घाँस काट्ने, स्याउ टिप्ने, घरायसी कामको लागि जाने युवाहरू धान फसल तयार नहुन्जेल करीब ३–४ महिना काम गर्छन् । पछि धान काट्ने बेला फर्किने चौधरी बताउँछन् ।

‘अर्काको देशमा काम गर्न जानु कसको रहर होला र ? आफ्नै देशमा काम पाए घर परिवारसँगै काम गरिन्थ्यो होला’

धनगढी उपमहानगरपालिका–१८ फुलवारी ‘ई’ गाउँका रविन चौधरी पनि भारतको रानखेतमा कामको खोजीमा गएका छन् । उनी खानेपानीको पाइप ओछ्याउने कामको लागि भारत पसेको उनकी श्रीमती प्रमिलाले बताइन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का कृष्ण विक पनि हालै भारत पसे । उनले पनि स्वादेशमै उचित रोजगारी नहुँदा बाध्यतावश भारत पस्नुपरेको बताए । ‘अर्काको देशमा काम गर्न जानु कसको रहर होला र ? आफ्नै देशमा काम पाए घर परिवारसँगै काम गरिन्थ्यो होला,’ उनले भने ।

हालै भारत पसेका कैलालीको घोडाघोडी नगरपालिका–११ सिसैयाका सुदिप चौधरीले आफूहरू ३–४ महिनाको अवधिमा ३५ देखि ४० हजार भारु कमाउँदै आएको बताए  । जुन कमाईले घर खर्च जोहो हुने उनको भनाई छ ।
७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न सार्वजनिक कार्यक्रममा कामको खोजीमा भारत पस्ने बाध्यताको अन्त्य गर्न स्वरोजगारमूलक कार्यक्रम ल्याउने बताउँदै आएका छन् ।

साथै, उनले भारत पस्नेको लगत संकलन गर्ने समेत बताउँदै आएका छन् । तर, भारत पस्नेको क्रम झन् बढेको हो । हालसम्म कुनै पनि सरकारी निकायले कामको खोजीमा भारत पस्नेको लगत लिएको पाइँदैन ।

salt training

कमेन्ट गर्नुहोस्