
सुर्खेत – बहुविवाह गरेका सैनिक जवानलाई जिल्ला प्रहरी कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर, सुर्खेतमा भएको एक घटनामा जिल्ला प्रहरी कार्यालयको नेतृत्व गरिरहेका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नै सैनिक जवान देखेर डराउँदा पीडित महिलालाई न्याय नमिल्ने चिन्ताले सताउन थालेको छ ।
सेनाका जवानले कान्छी श्रीमती भित्र्याएपछि जेठी श्रीमती र २ सन्तान बेसहारा बन्न पुगेका छन् । बेसहारा बनेकी पञ्चपुरी नगरपालिका–४ की २४ वर्षीया गीता नेपालीका ७ वर्षीया छोरा र २ वर्षकी छोरी रहेका छन् । पीडितका श्रीमान नेपाली सेनाको भैरववहान गुल्म सानोठिमीमा कार्यरत नरेश नेपालीले आफूलाई थाहै नदिई बिहे गरेको भन्दै गीता नेपाली कारवाहीका लागि प्रहरी कार्यालय धाइरहेकी छन् ।
शुरूमा बहुविवाहको उजुरी दर्ता नै गर्न आनाकानी गरेको प्रहरीले उजुरी गर्दा गरेपनि कारवाही प्रक्रिया अगाडि बढाएको देखिएको छैन । श्रीमानले अर्काे विवाह गरेको भनेर बैशाख २४ गते मात्र थाहा पाएको गीताले बताइन् । ‘जेठाजुका छोरा काठमाडौंमा उनकै कोठामा ३ महिना बसेर आए,’ उनले भनिन्, ‘उनीमार्फत् मात्रै मैले थाहा पाएँ ।’
घरका सबैलाई पहिलेदेखि नै थाहा भएपनि आफूलाई नबताइएको उनले बताइन् । ‘घरका सबै देवर, सासु लगायतलाई यो कुराको जानकारी भएपनि उनीहरूले मलाई बताएनन्,’ उनले भनिन्, ‘श्रीमानले कहिले बिहे गरेका हुन् मलाई जानकारी नै भएन ।’ गाउँमा आर्थिक अवस्था कमजोर भएका कारण आफूले काम गर्ने गरिरहेकाले आफूलाई श्रीमानले त्यस्तो गर्लाजस्तो नलागेको बताइन् ।
‘म १७ वर्षकी हुँदा मलाई भगाएर लग्यो,’ उनले भनिन्, ‘त्यसपछि मबाट सन्तानहरू जन्मे । म घरधन्दामा व्यस्त रहें ।’ तर, उसले आफूलाई बेसहारा बनाएको उनले बताइन् । ‘४ वर्ष पहिले मात्रै उसले सेनामा जागिर खाएको हो ।सेनामा जागिर भएपछि छोराछोरीलाई ठूलो मान्छे बनाउने सपना देखिइरहेकी थिएँ,’ आँखाभरि आँशु पार्दै गीताले भनिन्, ‘तर, उसले त मलाई र मेरा सन्तानलाई बेसहारा बनाउन खोजेको रहेछ, बर्बाद पार्न खोजेको रहेछ ।’
पञ्चपुरी नगरपालिका–३ घर भई नेपाली सेनामा कार्यरत नरेश नेपाली र गीताबीच स्कूल पढ्दादेखि नै माया बसेको जनाइएको छ । श्रीमानले अर्को विवाह गरेको आफूले थाहा पाएपछि बारम्बार फोन गरेर बोलाउँदा पनि हरेक पटक टाल्दै गएको उनको दुखेसो छ । ‘म श्रीमानको बाटो हेरेर जेठ १० गतेसम्म घरमै बसें, कसैलाई केही भनिन । तर, श्रीमान नआउने पक्का भइसकेपछि म माइत आएँ,’ उनले भनिन्, ‘माइतीलाई सबै कुरा बताएँ । र, जेठ १२ गते म वीरेन्द्रनगरमा रहेको आवाज संस्थामा सेल्टर लिन आए ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बहुविवाहको निवेदन दिँदा लिनै नमानेको उनले गुनासो गरिन् । ‘शुरूमा प्रहरीले मेरो मुद्धा दर्ता गर्ने मानेन,’ उनले भनिन्, ‘चौतर्फी दबाब पश्चात् मात्रै जेठ ३० गते मेरो मुद्धा दर्ता भएको छ ।’ गरीब र निमुखाले अहिले पनि न्याय पाउन नसकिरहेको बताउँदै उनले भनिन्, ‘हामी जस्तालाई राज्यले कहिले न्याय देला ?’
‘बल्ल–बल्ल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मुद्धा दर्ता गर्न सकें । तर, उसलाई प्रहरीले अहिलेसम्म ल्याउन सकेको छैन,’ उनले भनिन्, ‘प्रहरीलाई बुझ्दा सेनाले आफैंले छानविन गर्ने बताउँदै आफूलाई समात्न नदिएको जनायो ।’
सैनिक जवान देखेर डराएको प्रहरीले बहुविवाह गर्ने अभियुक्तलाई हालसम्म पक्राउ गर्ने प्रक्रिया अगाडि नबढाएको उनले बताइन् । अत्यन्तै भावुक बन्दै गीताले भनिन्, ‘यदि राज्य छ भने हामी हेपिएका महिलाले न्याय पाउन सकौं भन्ने मेरो आशा हो ।’
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख डीएसपी श्यामसिंह चौधरीले सेनाबाट आफूहरूले जबर्जस्तीकरणी र ज्यान मुद्धा बाहेकमा आरोपीलाई हस्तान्तरण कमै गरेको प्रतिक्रिया दिए । नेपाली सेनाको भैरव वाहन गुल्ममा फोन गर्दा फोन उठेन ।