०१ असार २०८३, सोमबार

वर्षाले कतै खुशी, कतै त्रास : मोरङमा ६५ प्रतिशत मात्र रोपाइँ

वर्षाले कतै खुशी, कतै त्रास : मोरङमा ६५ प्रतिशत मात्र रोपाइँ

विराटनगर – विराटनगर–१२ रानी सिकीयाईकी ६० वर्षीया गंगादेवी यादव मंगलवार बिहानै खेतमा धानको बीउ काढ्न व्यस्त थिइन् । उनी निकै हतारोमा देखिन्थिन् ।

उनका छिमेकी रामजी विश्वास पनि छोरासँगै २ हलगोरु लिएर खेतमा बिहानैदेखि धमाधम धान रोपाइँ र हिल्याउनमा व्यस्त थिए । उनीहरू साउनको पहिलो हप्तामा यसरी हतारिनुको एउटै कारण थियो, गएरातिदेखि परेको अविरल वर्षा । लामो समयपछि वर्षा हुँदा किसानलाई राहत भएको छ । 

करीब १ बिगाहा जग्गामा रामजी विश्वास छोरासँग धान रोप्ने तयारीमा थिए । लामो समयदेखि बाँझो र सुख्खा रहेको खेतमा राति भएको वर्षाका कारण खेतका गह्राहरू भरिएका थिए । रामजीको खेत रोप्न र बीउ काढ्न खेतालालाई भ्याइँ–नभ्याई थियो ।

धान रोप्न खेताला पाउनै मुस्किल हुने गरेको गुनासो आइरहेका बेला विराटनगरको दरैयाबाट आएका महिलाले दैनिकी ३ सय ५० रुपैयाँ पाउने गरी धान रोप्दै थिए । अहिले रोपाइँ गर्न पानी पर्खिएर बसेका किसान मात्र हैनन्, रोपाइँ सकेर बसेका किसानलाई पनि मनसुनी वर्षाले खुशी बनाएको छ । किसान कृष्ण यादवले भने, ‘गएराति परेको अविरल वर्षाले हामी किसानलाई पनि राहत मिलेको छ ।’

क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीका अनुसार पूर्वमा साउनको पहिलो सातासम्म ६५ दशमलव ३७ प्रतिशत रोपाइँ भइसकेको छ । मोरङमा भने ६८ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ५१ हजार ९ सय हेक्टर जमिनमा धान रोपाइँ भइसकेको उनले जानकारी दिए ।

मोरङ जिल्लामा ६६ दशमलव ५ प्रतिशत रोपाइँ सकिएको छ भने बाँझो खेतमा धान रोपाइँ जारी रहेको उप्रेतीले बताए ।

डुबानको त्रास

विराटनगरको संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै विराटनगर–१० स्थित घर अगाडिको पानी निकासको लागि कोदालो लिएर खन्न निस्किए । मंगलवार साँझदेखि परेको पानी रातभरि पर्दा उनीसँगै आसपासका केही घरहरू डुबेका छन् । 

कहिल्यै पानी नपस्ने उनको घरमा गत वर्षको वर्षादेखि पानी पस्न थालेको हो । अलि ठूलो पानी पर्ने बित्तिकै डुब्न थालेको उनले सुनाए । जमिनको सतहभन्दा माथि नाली बनाइँदा छेउछाउका घर डुबानमा परेका हुन् । 

विराटनगरमा सामान्य पानी पर्दा पनि अब डुबान हुने हो कि भन्ने त्रास जन्माएको छ । गत वर्ष वर्षाको कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको स्मरण हुँदाहुँदै पनि त्यसबाट बच्ने उपायको खोजी कतैबाट पनि भएको छैन ।

जिल्ला तह तथा संरचना खारेज भइसकेको अवस्थामा विराटनगर महानगरपालिकाकाले यसको बारेमा चनाखो हुनुपर्ने अवस्थामा अहिलेसम्म चासो नदिएको मास्केले आरोप लगाए । 

एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित झण्डै ७ अर्ब रुपैयाँको परियोजनामा चरम लापरवाहीका कारण समस्या आएको उनको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्