
काठमाडौं – गल्फ न्युजमा छापिएको समाचारअनुसार संयुक्त अरब अमिरातको राजधानी अबु धाबीमा हिन्दू मन्दिर बन्ने भएको छ । सन् २०२० सम्ममा यो मन्दिर तयार हुनेछ ।
मन्दिर निर्माण समिति वैधानिक प्रावधानअन्तर्गत एक महिनाभित्र सल्लाहकार नियुक्त गर्नेछ । स्वामीनारायण संस्थाले मन्दिरको निर्माण र प्रबन्धन गर्नेछ ।
उक्त संस्थाका मध्यपूर्व व्यवस्थापक साधु ब्रह्मा विहारीदासले सल्लाहकारको नियुक्ति भएपछि उनीहरूले नै सबै कुरा गर्ने बताए । सन् २०२० सम्ममा मन्दिर निर्माणको लक्ष्यमा काम गर्ने उनले बताए ।
साततल्ले मन्दिरले यूएईको सात अमिरातको प्रतिनिधित्व गर्नेछ । यो अबु धाबी र दुबई राजमार्गनजिक १४ एकड जमीनमा बन्नेछ । मन्दिरका पत्थरमा भारतीय शिल्पकारले कुँद्नेछन् र ती पत्थरलाई यूएईमा जोडिनेछ ।
एजेन्सी